आज्ञा खबर
जनकपुरधाम
धनुषा जिल्लामा जारी कर्फ्युका कारण जयनगर–जनकपुर–भङ्गाहा रेलमार्गमा सञ्चालन हुँदै आएको रेल सेवा तत्कालका लागि बन्द गरिएको छ।
नेपाल रेल्वे कम्पनी लिमिटेडले शुक्रबार सूचना जारी गर्दै यात्रुहरूको सुरक्षालाई प्राथमिकतामा राखेर रेल सेवा स्थगित गर्ने निर्णय गरिएको जनाएको हो। जिल्ला प्रशासन कार्यालय धनुषाले जारी गरेको कर्फ्यु आदेशलाई आधार बनाएर रेल सञ्चालन रोकिएको कम्पनीले स्पष्ट पारेको छ।
कम्पनीका अनुसार कर्फ्यु आदेश कायम रहुञ्जेल जयनगर–जनकपुर–भङ्गाहा खण्डमा नियमित रेल सेवा सञ्चालन हुने छैन। जिल्लाको सुरक्षा अवस्था सामान्य भएपछि मात्रै रेल सेवा पुनः सञ्चालनमा ल्याइनेछ।
नेपाल रेल्वे कम्पनीका प्रशासन प्रमुख अजयकुमार सिंहद्वारा जारी सूचनामा अर्को सूचना जारी नभएसम्म सेवा स्थगित रहने उल्लेख छ। रेल सेवा रोकिँदा यात्रुहरूलाई पर्न गएको असुविधाप्रति कम्पनीले क्षमासमेत मागेको छ।
धनुषामा पछिल्लो समय उत्पन्न सुरक्षा संवेदनशील अवस्थालाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालयले कर्फ्यु आदेश जारी गरेको हो। सोही आदेशका कारण सार्वजनिक यातायातअन्तर्गत महत्वपूर्ण मानिएको जयनगर–जनकपुर–भङ्गाहा रेल सेवा समेत प्रभावित भएको छ।
