आज्ञा खबर
धनुषा
धनुषाको सबैला नगरपालिका–१२ स्थित एक मन्दिर परिसरमा मृत अवस्थामा फेला परेको व्यक्ति पुजारी नभई बटुवा रहेको पुष्टि भएको छ।
मधेश प्रदेश प्रहरी कार्यालयका प्रहरी नायब महानिरीक्षक (डीआईजी) ओमप्रसाद अधिकारीले मन्दिर परिसरमा भेटिएको शव पुजारी बन्ठु राउत कडेरीको नभएको स्पष्ट पारेका छन्। यसअघि मृतकलाई पुजारीका रूपमा उल्लेख गर्दै सामाजिक सञ्जाल तथा केही सञ्चारमाध्यममा समाचार तथा सूचना सार्वजनिक भएपछि प्रहरीले त्यसप्रति ध्यानाकर्षण भएको जनाएको हो।
प्रदेश प्रहरी प्रमुख अधिकारीले संवेदनशील घटनाका विषयमा आधिकारिक तथ्य पुष्टि नगरी सूचना सम्प्रेषण गर्दा भ्रम फैलिन सक्ने भन्दै सत्यतथ्य बुझेर मात्र समाचार सार्वजनिक गर्न आग्रह गरेका छन्।
जिल्ला प्रहरी कार्यालय धनुषाले पनि विज्ञप्ति जारी गर्दै मन्दिर परिसरमा फेला परेको शव कडेरी पुजारीको नभई बाहिरबाट आएका एक बटुवाको रहेको पुष्टि गरेको जनाएको छ।
जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायब उपरीक्षक मधुसुधन न्यौपानेका अनुसार घटनाको वास्तविकता पत्ता लगाउन प्रहरीले थप अनुसन्धान अघि बढाएको छ। घटनास्थलमा तालिमप्राप्त कुकुरसहितको प्रहरी टोली परिचालन गरी अनुसन्धान भइरहेको उनले बताए।
प्रहरीका अनुसार मृतक व्यक्ति बाहिर कामकाज गरेर फर्किएपछि मन्दिर परिसरमा सुत्ने गरेको प्रारम्भिक जानकारी प्राप्त भएको छ। घटनालाई धार्मिक विषयसँग जोडेर नहेर्न प्रहरीले आग्रह गर्दै यो आपराधिक प्रकृतिको घटना हुनसक्ने भएकाले सोहीअनुसार अनुसन्धान अघि बढाइएको जनाएको छ।
घटनामा संलग्न व्यक्तिको पहिचान तथा संलग्नता पुष्टि भएपछि कानुनी दायरामा ल्याउने प्रहरीको प्रतिबद्धता छ। प्रहरीले घटनाबारे थप तथ्य अनुसन्धानबाट खुल्दै जाने जनाएको छ।
