धार्मिक सहिष्णुता र सामाजिक सद्भाव कायम गर्न बर्दिवासमा सर्वपक्षीय बैठक

[sharethis-inline-buttons]

आज्ञा खबर

बर्दिवास

धार्मिक सहिष्णुता, सामाजिक एकता र राष्ट्रिय समृद्धिको प्रतिबद्धतासहित महोत्तरीको बर्दिवासमा धार्मिक तथा सामाजिक सद्भाव कायम गर्ने विषयमा सर्वपक्षीय बैठक सम्पन्न भएको छ।

बर्दिवास उद्योग वाणिज्य संघको आयोजनामा शुक्रबार भएको बैठकमा पछिल्लो समय देखिएका धार्मिक तथा सामाजिक संवेदनशीलतालाई मध्यनजर गर्दै समाजमा आपसी सद्भाव, सहिष्णुता र एकता कायम राख्ने विषयमा छलफल गरिएको हो।

बर्दिवास उद्योग वाणिज्य संघका अध्यक्ष दीपकबहादुर कार्कीको अध्यक्षता तथा बर्दिवास नगरपालिकाका नगरप्रमुख प्रह्लादकुमार क्षेत्रीको प्रमुख आतिथ्यतामा बैठक बसेको थियो। बैठकमा विभिन्न राजनीतिक दल, सामाजिक तथा व्यावसायिक संघ–संस्था, नागरिक समाज, सञ्चारकर्मीलगायत विभिन्न क्षेत्रका प्रतिनिधिको सहभागिता रहेको थियो।

बैठकमा सहभागी वक्ताहरूले बर्दिवासको सामाजिक तथा धार्मिक सद्भावलाई कुनै पनि अवस्थामा कमजोर हुन नदिन सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड दिएका थिए। धार्मिक आस्था र विश्वास फरक भए पनि सबै समुदायबीच आपसी सम्मान, सहिष्णुता र भाइचाराको सम्बन्ध हालसम्म कायम रहेकोमा आगामी दिनहरुमा समेत यस्ले निरन्तरता पाउनु पर्नेमा जोड दिए।

वक्ताहरूले सामाजिक सञ्जाल तथा अन्य माध्यमबाट फैलिन सक्ने भ्रामक, उत्तेजक र संवेदनशील सामग्रीका कारण सामाजिक वातावरण प्रभावित हुन सक्ने भन्दै त्यस्ता गतिविधिप्रति सचेत रहनसमेत आग्रह गरेका थिए। कुनै पनि विषयमा विवाद उत्पन्न भए संवाद र सहमतिमार्फत समाधान खोज्नुपर्नेमा उनीहरूले जोड दिए।

बर्दिवासको शान्ति, सामाजिक एकता र सद्भाव कायम राख्न राजनीतिक दल, स्थानीय सरकार, उद्योगी–व्यवसायी, नागरिक समाज, सञ्चार क्षेत्र तथा आम नागरिकबीच सहकार्य आवश्यक रहेको बैठकमा सहभागीहरूको धारणा थियो।

बैठकले धार्मिक तथा सामाजिक सद्भाव कायम राख्दै बर्दिवासलाई शान्त, सुरक्षित र समुन्नत नगरका रूपमा अघि बढाउन सबै पक्ष एकजुट भएर अघि बढ्नुपर्ने सन्देश दिएको छ।

“धार्मिक सहिष्णुता, सामाजिक एकता र राष्ट्रिय समृद्धि हाम्रो प्रतिबद्धता” भन्ने भावनालाई आत्मसात् गर्दै समाजमा कुनै पनि प्रकारको द्वन्द्व र विभाजन उत्पन्न हुन नदिन सामूहिक पहल आवश्यक रहेको बैठकमा सहभागीहरूले बताएका थिए।

 

  • लोड हुँदैछ...
  • Loading...
  • लोड हुँदैछ...