आज्ञा खबर
वीरगञ्ज
पर्साको वीरगञ्जस्थित नारायणी अस्पतालमा कार्यरत ७१ जना चिकित्सकले सामूहिक रूपमा राजीनामा दिएका छन्। उपचारका क्रममा बिरामीको मृत्यु भएपछि अस्पतालमा तोडफोड हुनुका साथै चिकित्सकमाथि कुटपिट भएको घटनाको विरोधमा चिकित्सकहरूले राजीनामा दिएका हुन्।
अस्पतालका अनुसार गत शनिबार वीरगञ्ज महानगरपालिका–२५ का ४५ वर्षीय राजकुमार पटेल उपचारका लागि अस्पतालको आकस्मिक कक्षमा भर्ना भएका थिए। उपचारकै क्रममा उनको मृत्यु भएपछि मृतकका आफन्तले चिकित्सकको लापरबाहीका कारण मृत्यु भएको आरोप लगाउँदै अस्पतालको आकस्मिक कक्षमा तोडफोड गरेका थिए।
सोही क्रममा आकस्मिक कक्षमा कार्यरत मेडिकल अधिकृत डा. प्रमोद राममाथि समेत कुटपिट भएको थियो। घटनामा गम्भीर घाइते भएका डा. रामको हाल काठमाडौंस्थित राष्ट्रिय ट्रमा सेन्टरमा उपचार भइरहेको अस्पतालले जनाएको छ।
नारायणी अस्पतालका निमित्त मेडिकल सुपरिन्टेन्डेन्ट डा. चित्ररञ्जन साहका अनुसार अस्पतालमा कार्यरत ८० चिकित्सकमध्ये ७१ जनाले मंगलबार सामूहिक राजीनामा बुझाएका हुन्।
चिकित्सकमाथि भएको कुटपिट र अस्पतालमा भएको तोडफोडको विरोधमा वीरगञ्जका चिकित्सकहरू आइतबारदेखि आन्दोलनमा छन्। चिकित्सकहरूले कार्यस्थलमा स्वास्थ्यकर्मीको सुरक्षा सुनिश्चित गर्न तथा दोषीमाथि कारबाही गर्न माग गर्दै आन्दोलनलाई निरन्तरता दिइरहेका छन्।
अस्पतालमा चिकित्सकहरूले सामूहिक राजीनामा दिएपछि उपचार सेवा प्रभावित हुन सक्ने अवस्था देखिएको छ। स्वास्थ्यकर्मीमाथि हुने आक्रमणका घटनाले सुरक्षित वातावरणमा उपचार सेवा प्रदान गर्ने विषयमा समेत गम्भीर प्रश्न उठाएको चिकित्सकहरूको भनाइ छ।
