धार्मिक सद्भाव कायम राख्न धनुषामा सर्वपक्षीय प्रतिबद्धता

[sharethis-inline-buttons]

आज्ञा खबर
जनकपुरधाम

धनुषामा धार्मिक तथा सामाजिक सद्भाव कायम राख्दै सम्भावित तनाव र द्वन्द्व रोक्न सर्वपक्षीय पहल गर्ने सहमति भएको छ। सुनसरीमा भएको घटनापछि धनुषामा समेत संवेदनशील प्रकृतिका गतिविधि देखिन थालेपछि आयोजित सर्वपक्षीय सद्भाव बैठकले सामाजिक एकता र धार्मिक सहिष्णुता कायम राख्ने प्रतिबद्धता जनाएको हो।

बैठकले विरोध प्रदर्शनका नाममा सार्वजनिक तथा निजी सम्पत्तिमा तोडफोड, आगजनी वा क्षति पुर्‍याउने कार्यमा संलग्न व्यक्तिमाथि प्रचलित कानुनअनुसार कडा कारबाही गर्ने निर्णय गरेको छ। यस्ता गतिविधिले सामाजिक वातावरण बिगार्ने भएकाले कुनै पनि बहानामा हिंसात्मक तथा आपराधिक क्रियाकलापलाई छुट नदिने निष्कर्ष बैठकले निकालेको छ।

त्यस्तै, फेसबुक, टिकटक लगायतका सामाजिक सञ्जालको प्रयोग गरी एकअर्काप्रति घृणा फैलाउने, धार्मिक तथा सामुदायिक विद्वेष उत्पन्न गर्ने र सामाजिक सद्भावमा खलल पुर्‍याउने सामग्री तथा गतिविधिलाई नियन्त्रण गर्ने निर्णयसमेत गरिएको छ।

धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुइँटेलले विभिन्न धर्म, जातजाति, भाषाभाषी र समुदायबीचको आपसी सम्बन्धलाई अझ सुदृढ बनाउन सबै पक्षको सक्रिय भूमिका आवश्यक रहेको बताए। उनले समुदायका अगुवा, नागरिक समाज, बुद्धिजीवी, राजनीतिक दल, विभिन्न संघसंस्था तथा स्थानीय तहका जनप्रतिनिधिले आ–आफ्नो क्षेत्रबाट सद्भाव कायम गर्न पहल गर्नुपर्नेमा जोड दिए।

बैठकले आपराधिक गतिविधिमा संलग्न हुने व्यक्तिमाथि मुलुकी अपराध संहिता, २०७४, विद्युतीय कारोबार ऐन, २०६३ लगायत प्रचलित कानुनअनुसार कारबाही अघि बढाउने निर्णय गरेको छ।

सर्वपक्षीय बैठकमा जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख मनोजकुमार चौधरी, हिन्दु तथा मुस्लिम समुदायका प्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि तथा सञ्चारकर्मीको सहभागिता रहेको थियो। बैठकका सहभागीहरूले धार्मिक आस्था र सामुदायिक विविधताको सम्मान गर्दै जनकपुरधामसहित धनुषामा शान्ति, सद्भाव र भाइचारा कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्ने धारणा राखेका थिए।

 

  • लोड हुँदैछ...
  • Loading...
  • लोड हुँदैछ...