मधेशलाई साक्षर प्रदेश बनाउने अभियान तीव्र : मन्त्री पोखरेल

[sharethis-inline-buttons]

आज्ञा खबर
जनकपुरधाम

मधेश प्रदेशलाई पूर्ण साक्षर प्रदेश बनाउने उद्देश्यसहित प्रदेश सरकारले आवश्यक तयारी तथा कामलाई तीव्रता दिएको शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले बताएका छन्।

जनकपुरधामस्थित संकटमोचन विद्यालयमा सोमबार आयोजित कार्यक्रममा विद्यार्थीलाई खेलकुद सामग्री हस्तान्तरण गर्दै मन्त्री पोखरेलले साक्षर प्रदेश निर्माणका लागि प्रदेश सरकारसमक्ष आवश्यक प्रतिवेदन बुझाइसकिएको जानकारी दिए। प्रतिवेदनमा उल्लेख गरिएका विषयलाई आधार बनाएर काम अघि बढिरहेको उनको भनाइ छ।

मन्त्री पोखरेलले साक्षर प्रदेश निर्माणका लागि प्रदेशका सम्बन्धित निकाय तथा इकाइ कार्यालयसँग आवश्यक समन्वय र जानकारी लिएर थप प्रभावकारी योजना बनाइने बताए। उनले शिक्षा क्षेत्रको सुधारलाई प्राथमिकतामा राख्दै प्रदेशका विभिन्न स्थानमा भइरहेका गतिविधिको समेत अनुगमन गर्ने जानकारी दिए।

यसै क्रममा मन्त्री पोखरेलले जनकपुरधामस्थित राजर्षी जनक विश्वविद्यालयको भवन निर्माणमा देखिएको समस्याबारे स्थलगत अध्ययन गर्ने बताएका छन्। विश्वविद्यालयका डिनसँग छलफल भइसकेको जानकारी दिँदै उनले मुजेलियामा रहेको जग्गा तथा फुलगमामा हाल तोकिएको निर्माणस्थलको निरीक्षण गर्ने बताए।

राजर्षी जनक विश्वविद्यालयको भौतिक संरचना विस्तारसँगै शैक्षिक गुणस्तर अभिवृद्धिका लागि समेत प्रदेश सरकारले आवश्यक पहल गर्ने मन्त्री पोखरेलले बताए। विश्वविद्यालयलाई थप व्यवस्थित र प्रभावकारी बनाउँदै शिक्षाको गुणस्तर मजबुत बनाउन आफूले चासोका साथ काम गरिरहेको उनको भनाइ छ।

कार्यक्रममा मन्त्री पोखरेलले संकटमोचन विद्यालयका छात्रछात्रालाई क्रिकेट ब्याट, फुटबल तथा ब्याडमिन्टन र्‍याकेटलगायत खेलकुद सामग्री हस्तान्तरण गरे। विद्यालयमा खेलकुद गतिविधिलाई थप व्यवस्थित बनाउन छिट्टै खेल प्रशिक्षकको व्यवस्था गर्ने प्रतिबद्धतासमेत उनले विद्यार्थीसमक्ष व्यक्त गरे।

विद्यार्थीलाई पढाइसँगै खेलकुदमा समेत सक्रिय हुन आग्रह गर्दै मन्त्री पोखरेलले विद्यालयमै क्रिकेट खेलेर विद्यार्थीलाई प्रोत्साहित गरेका थिए।

 

  • लोड हुँदैछ...
  • Loading...
  • लोड हुँदैछ...