मानव अधिकार संरक्षणका लागि छुट्टै ऐन आवश्यक : प्रदेश प्रमुख कर्ण

[sharethis-inline-buttons]

आज्ञा खबर
जनकपुरधाम

मधेस प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णले मानव अधिकारको संरक्षण र प्रवद्र्धनलाई प्रभावकारी बनाउन प्रदेशस्तरमै छुट्टै मानव अधिकारसम्बन्धी कानुन निर्माण गर्नुपर्ने बताएका छन्।

जनकपुरधाममा बुधबारदेखि सुरु भएको मधेस प्रदेश मानव अधिकार सम्मेलनको उद्घाटन गर्दै प्रदेश प्रमुख कर्णले मानव अधिकारको सुनिश्चितताका लागि राज्यका निकायसँगै नागरिक समाज र नागरिक अगुवाको भूमिका पनि महत्वपूर्ण हुने बताए।

उनले समतामूलक तथा विभेदरहित समाज निर्माणका लागि सबै पक्षबीच सहकार्य र समन्वय आवश्यक रहेको उल्लेख गरे। प्रविधिको क्षेत्रमा विश्वले तीव्र प्रगति गरिरहे पनि नेपाली समाजमा अझै जातीय विभेद, महिला हिंसालगायतका समस्या कायम रहनु चिन्ताको विषय भएको उनको भनाइ थियो।

प्रदेश प्रमुख कर्णले मानव अधिकार उल्लङ्घनका घटना न्यूनीकरण गर्न सरकार गम्भीर भएर अघि बढ्नुपर्नेमा जोड दिए। मानव अधिकार संरक्षणका लागि आवश्यक कानुनी तथा संस्थागत संरचना निर्माण गर्न प्रदेश सरकारले ठोस पहल गर्नुपर्ने उनले बताए।

अनौपचारिक सेवा केन्द्र (इन्सेक), सबल नेपाल र मुक्ति नेपाललगायत संस्थाको संयुक्त आयोजनामा सुरु भएको सम्मेलनबाट मानव अधिकार संरक्षणका क्षेत्रमा प्रदेश सरकारले लिनुपर्ने नीति तथा आगामी कदमबारे महत्वपूर्ण सुझाव प्राप्त हुने विश्वास पनि प्रदेश प्रमुख कर्णले व्यक्त गरे।

सम्मेलनमा मानव अधिकारको अवस्था, संरक्षणका चुनौती तथा प्रदेशस्तरमा मानव अधिकार प्रवद्र्धनका लागि आवश्यक नीतिगत र कानुनी व्यवस्थाबारे छलफल हुने बताइएको छ।

 

  • लोड हुँदैछ...
  • Loading...
  • लोड हुँदैछ...