आज्ञा खबर
पर्सा
वीरगञ्जस्थित नारायणी अस्पतालमा उपचारका क्रममा बिरामीको मृत्यु भएको घटनाबारे छानबिन गर्न पाँच सदस्यीय समिति गठन गरिएको छ। अस्पतालको आकस्मिक कक्षमा उपचाररत वीरगञ्ज महानगरपालिका–२५ का ४५ वर्षीय राजकुमार पटेलको मृत्यु भएपछि घटनाको वास्तविकता पत्ता लगाउन समिति गठन गरिएको हो।
पटेलको मृत्यु चिकित्सक तथा अस्पताल प्रशासनको लापरबाहीका कारण भएको आरोप लगाउँदै उनका आफन्तले विरोध प्रदर्शन गरेका थिए। परिवारका सदस्यले अक्सिजनको सहायतामा उपचार भइरहेको अवस्थामा बिरामीलाई अर्को स्थानमा सार्ने क्रममा अक्सिजन हटाइएपछि उनको मृत्यु भएको दाबी गरेका छन्।
घटनाको छानबिनका लागि जिल्ला प्रशासन कार्यालय पर्साका प्रशासकीय अधिकृत विनयकुमार राम, नारायणी अस्पतालका डा. नीरजकुमार सिंह, वीरगञ्ज महानगरपालिका–२५ का वडाध्यक्ष आशुतोष चतुर्वेदी, मृतकका तर्फबाट विकास पटेल र अस्पताल प्रशासनका प्रतिनिधि सुनिलकुमार रौनियारलाई सदस्य तोकिएको छ। जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी निरीक्षकलाई समितिको संयोजकको जिम्मेवारी दिइएको छ।
यसैबीच, अस्पतालले घटनाको समयमा उपचारमा संलग्न पाँच जना स्वास्थ्यकर्मीलाई छानबिन प्रतिवेदन नआएसम्मका लागि जिम्मेवारीबाट हटाएको जनाएको छ।
जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक तथा प्रवक्ता किशोर लम्सालका अनुसार समितिले एक साताभित्र घटनाबारे प्रतिवेदन बुझाउनेछ। छानबिनबाट कसैको लापरबाही वा दोष प्रमाणित भएमा प्रतिवेदनका आधारमा आवश्यक कानुनी तथा प्रशासनिक कारबाही अघि बढाइने उनले बताए।
