आज्ञा खबर
जनकपुरधाम
कृषि, वन तथा वातावरणमन्त्री गीता चौधरीले प्राकृतिक स्रोतको संरक्षणलाई प्राथमिकतामा राखेर विकासका गतिविधि अघि बढाउनुपर्ने बताएकी छन्।
धनुषाको धनुषाधाम नगरपालिकास्थित सबडिभिजन वन कार्यालयमा आयोजित परामर्श तथा वृक्षरोपण कार्यक्रममा बोल्दै मन्त्री चौधरीले वन, जल, जमिन, कृषि तथा वातावरण संरक्षणबिना दिगो विकास सम्भव नहुने धारणा व्यक्त गरिन्।
उनले सडक तथा भौतिक पूर्वाधार निर्माणलाई मात्र विकासको सूचक मान्न नहुने बताउँदै कृषि, वन, जलस्रोत, भूमि र वातावरणको संरक्षणलाई समेत विकास योजनासँग जोड्नुपर्नेमा जोड दिइन्। देशको समग्र समृद्धिका लागि सबै क्षेत्रको सन्तुलित विकास आवश्यक रहेको उनको भनाइ थियो।
‘हरियो वन नेपालको धन’ र ‘नेपाल कृषि प्रधान देश’ भन्ने कुरा लामो समयदेखि सुनिँदै आए पनि कृषि तथा वन क्षेत्रले अपेक्षित प्राथमिकता पाउन नसकेको मन्त्री चौधरीले उल्लेख गरिन्। प्राकृतिक स्रोतको संरक्षणका लागि सरकारले माटो सुधारलगायतका कार्यक्रमलाई प्रभावकारी रूपमा अघि बढाउने प्रतिबद्धता पनि उनले व्यक्त गरिन्।
मन्त्री चौधरीका अनुसार सरकारले प्रत्येक प्रदेशमा एक–एक वटा प्राणी उद्यान स्थापना गर्ने योजना बनाएको छ। सोही योजनाअनुसार मधेश प्रदेशमा पनि प्राणी उद्यान निर्माण गर्ने तयारी भइरहेको उनले जानकारी दिइन्।
संघीय र प्रदेश सरकार एउटै राज्य संरचनाका अंग भएकाले आपसी समन्वय र सहकार्यबाट विकासका काम अघि बढाउनुपर्नेमा उनले जोड दिइन्। मधेश प्रदेशमा कृषि, वन तथा वातावरण संरक्षणका लागि सरकार, स्थानीय तह, समुदाय र सम्बन्धित सबै पक्षबीच सहकार्य आवश्यक रहेको उनको भनाइ थियो।
कार्यक्रममा मधेश प्रदेशका वन तथा वातावरणमन्त्री शंकर प्रसाद चौधरीले वनजंगलको संरक्षणमा बेवास्ता गरिए मानव जीवन नै संकटमा पर्न सक्ने बताए। उनले वन तथा वातावरण संरक्षणको अभियानमा सबै नागरिकलाई सहभागी हुन आग्रह गरे।
कार्यक्रमका क्रममा मन्त्री गीता चौधरीले सबडिभिजन वन कार्यालय परिसरमा कल्पवृक्ष रोपेर वृक्षरोपण अभियानको सुरुवात गरिन्। त्यसैगरी धनुषाधाम वनस्पति उद्यानअन्तर्गतको नक्षत्र बाटिकामा राशिअनुसारका विभिन्न प्रजातिका बिरुवा रोप्ने कार्यक्रमसमेत सञ्चालन गरिएको थियो।
