आज्ञा खबर
जनकपुरधाम
मधेश प्रदेश सरकारले सिटी रिक्सा, ई–रिक्सा, अटो रिक्सा तथा ट्रयाक्टर चालकका लागि लाइसेन्स प्राप्त गर्ने प्रक्रियालाई थप सहज बनाएको छ। अब यी सवारी साधन चलाउन सक्षम तर लेखपढ गर्न नसक्ने चालकले लिखित परीक्षा नदिई सिधै प्रयोगात्मक (ट्रायल) परीक्षा उत्तीर्ण गरेर लाइसेन्स प्राप्त गर्न सक्ने भएका छन्।
प्रदेश सरकारले प्रदेश सवारी तथा यातायात व्यवस्था ऐन तथा सम्बन्धित कार्यविधिमा संशोधन गरी विभागको सहमतिसमेत प्राप्त गरेपछि श्रावण १ गतेदेखि नयाँ व्यवस्था लागू गरेको हो। नयाँ व्यवस्थाअनुसार ट्रायल परीक्षामार्फत सवारी चलाउने व्यावहारिक सीप प्रमाणित गर्न सकेमा लिखित परीक्षा आवश्यक नपर्ने व्यवस्था गरिएको छ। यसबाट विशेषगरी विपन्न, निरक्षर तथा श्रम गरेर जीविकोपार्जन गर्ने चालक प्रत्यक्ष लाभान्वित हुने अपेक्षा गरिएको छ।
श्रम तथा यातायात मन्त्रालयका अनुसार मधेश प्रदेशमा ठूलो सङ्ख्यामा नागरिक ई–रिक्सा, अटो रिक्सा र ट्रयाक्टर सञ्चालन गरेर परिवार पालिरहेका छन्। तर लेखपढ गर्न नसक्दा लिखित परीक्षामा असफल हुने कारण उनीहरू वैधानिक रूपमा लाइसेन्स लिनबाट वञ्चित हुँदै आएका थिए। म
न्त्रालयका सचिव धनञ्जय सिंहले सवारी चलाउने सीप भएका तर निरक्षरताका कारण लिखित परीक्षा पास गर्न नसक्ने नागरिकलाई रोजगारीबाट वञ्चित हुन नदिन यो निर्णय गरिएको बताए। उनका अनुसार नयाँ व्यवस्थाले सीपलाई प्राथमिकता दिँदै वास्तविक चालकलाई कानुनी रूपमा सवारी सञ्चालन गर्ने अवसर प्रदान गर्नेछ। प्रदेश सरकारले यो व्यवस्थाले सडक सुरक्षालाई कायम राख्दै विपन्न वर्गलाई रोजगारीको अवसर सुरक्षित गर्न र लाइसेन्स प्रणालीलाई व्यवहारिक तथा समावेशी बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरेको छ। :::
