आज्ञा खबर
सिरहा
जिल्ला ट्राफिक प्रहरी कार्यालय सिरहाले आर्थिक वर्ष २०८२/८३ मा ट्राफिक नियम उल्लङ्घन गर्ने सवारीसाधनमाथि गरिएको कारबाहीबाट १ करोड १४ लाख ३६ हजार रुपैयाँ राजस्व संकलन गरेको छ।
कार्यालय प्रमुख प्रहरी निरीक्षक नवीन मरासिनीका अनुसार उक्त अवधिमा ट्राफिक नियम उल्लङ्घन गर्ने १३ हजार ४१६ सवारीसाधनलाई कारबाही गरिएको थियो। अघिल्लो आर्थिक वर्ष २०८१/८२ मा भने ३२ हजार १५७ सवारीसाधनमाथि कारबाही हुँदा २ करोड ५१ लाख १९ हजार ५०२ रुपैयाँ राजस्व संकलन भएको थियो।
यस्तै, आर्थिक वर्ष २०८२/८३ मा सिरहामा एक हजार २० वटा सवारी दुर्घटना भएका छन्। ती दुर्घटनामा ६२ पुरुष, सात महिला र १२ बालबालिकासहित ८१ जनाको ज्यान गएको छ भने एक हजार ६७६ जना घाइते भएका छन्।
यसअघि आर्थिक वर्ष २०८१/८२ मा ९६७ वटा सवारी दुर्घटना हुँदा ६४ पुरुष, १४ महिला र ११ बालबालिकासहित ८९ जनाको मृत्यु भएको थियो। सो अवधिमा एक हजार ५५४ जना घाइते भएका थिए।
प्रहरी निरीक्षक मरासिनीका अनुसार सडकको अवस्था, चालकको लापरवाही तथा अन्य मानवीय कारणले दुर्घटनाको संख्या केही बढे पनि अघिल्लो वर्षको तुलनामा दुर्घटनाबाट हुने मृत्यु संख्या घटेको छ। ट्राफिक सचेतना कार्यक्रम, नियमित सवारी जाँच तथा नियम कार्यान्वयनमा कडाइ गरिएकाले दुर्घटनाको जोखिम नियन्त्रणमा सकारात्मक प्रभाव परेको उनको भनाइ छ।
