दृष्टिबन्धकमा लिएको जग्गा बैंकमा धितो राखेर करोडौँ ऋण, एकै परिवारका तीन पक्राउ

[sharethis-inline-buttons]

आज्ञा खबर

जनकपुरधाम

दृष्टिबन्धकमा लिएको जग्गा सम्बन्धित जग्गाधनीलाई जानकारी नै नदिई बैंकमा धितो राखेर करोडौँ रुपैयाँ ऋण लिएको आरोपमा धनुषा प्रहरीले एकै परिवारका तीन जनालाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार अनुचित लेनदेन (मिटरब्याज) तथा ठगीसम्बन्धी मुद्दामा फरार रहेका जनकपुरधाम उपमहानगरपालिका–१६ कपिलेश्वरका ५३ वर्षीय गोपाल साह, उनकी श्रीमती ४८ वर्षीया रेखा साह तथा ३२ वर्षीय छोरा हरेराम साहलाई विभिन्न स्थानबाट पक्राउ गरिएको हो।

प्रहरीका अनुसार गोपाल साहलाई जनकपुरधामस्थित एक होटलबाट, रेखा साहलाई नगराइन नगरपालिका–स्थित जटही सीमा नाकाबाट तथा हरेराम साहलाई काठमाडौँबाट नियन्त्रणमा लिइएको हो।

अनुसन्धानबाट जनकपुरधाम–२ का गोविन्दकुमार साहले व्यापारका लागि गोपाल साहसँग कपाली तमसुक गरी ९९ लाख रुपैयाँ ऋण लिँदा आफ्नो जग्गा दृष्टिबन्धकमा राखेको खुलेको प्रहरीले जनाएको छ। त्यसपछि उक्त जग्गा वास्तविक धनीलाई जानकारी नदिई गोपाल साह, उनकी श्रीमती र छोराले बैंकमा धितो राखेर करिब चार करोड रुपैयाँ ऋण निकालेको आरोप छ।

घटनाको अनुसन्धानका क्रममा प्रहरीले गोपाल साहको घरमा खानतलासी गर्दा ५० थान जग्गाधनी पुर्जा, १८ थान नागरिकता प्रमाणपत्र, एक थान ल्यापटप तथा विभिन्न सरकारी छाप र नक्सासमेत बरामद गरेको जनाएको छ।

प्रहरीले बरामद भएका कागजात र सामग्रीको समेत परीक्षण भइरहेको जनाएको छ। पक्राउ परेका तीनै जनामाथि अनुचित लेनदेन (मिटरब्याज) तथा ठगीसम्बन्धी मुद्दामा थप अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।

 

  • लोड हुँदैछ...
  • Loading...
  • लोड हुँदैछ...