सञ्चारसम्बद्ध तीन संस्था एकीकरणको तयारीमा मधेस सरकार

[sharethis-inline-buttons]

आज्ञा खबर

जनकपुरधाम

मधेस प्रदेश सरकारले सञ्चार क्षेत्रसँग सम्बन्धित तीनवटा संस्थालाई एकीकृत गर्ने प्रक्रिया अघि बढाएको छ। प्रदेश सरकारका अनुसार आमसञ्चार प्राधिकरण, मिडिया काउन्सिल र चलचित्र विकास बोर्डलाई एउटै संरचनाअन्तर्गत सञ्चालन गर्ने गरी कानुनी तयारी अन्तिम चरणमा पुगेको छ।

गृहमन्त्री फकिरा महतोले हाल तीनवटै संस्थाको छुट्टाछुट्टै संरचनाका कारण प्रशासनिक तथा सेवा–सुविधामा ठूलो रकम खर्च भइरहेको तर अपेक्षित उपलब्धि हासिल हुन नसकेको बताए। उनका अनुसार संस्थागत खर्च घटाउँदै कार्यसम्पादनलाई प्रभावकारी बनाउन एकीकरणको अवधारणा अघि सारिएको हो।

उनले एकीकृत संरचनाका लागि आवश्यक विधेयक तयार भइसकेको जानकारी दिँदै सरोकारवालासँग परामर्श सम्पन्न भएपछि प्रदेशसभाको आगामी अधिवेशनमा पेश गरिने बताए।

गृहमन्त्री महतोका अनुसार मुख्यमन्त्री कृष्णप्रसाद यादव, अर्थमन्त्री युवराज भट्टराई र गृह मन्त्रालयबीच यस विषयमा सहमति भइसकेको छ। सोही सहमतिअनुसार प्रदेश सरकारले विभिन्न निकायको पुनर्संरचना गर्ने योजना बनाएको छ, जसअन्तर्गत पहिलो चरणमा सञ्चार क्षेत्रका संस्थालाई एकीकृत गर्न लागिएको हो।

मन्त्री महतोले तीनवटै संस्थाले समान प्रकृतिका कार्यक्रम सञ्चालन गर्दै आएको र कार्यक्षमतामा अपेक्षित प्रभाव देखिन नसकेको उल्लेख गरे। एउटै संस्थामार्फत सञ्चारसम्बन्धी नीति, नियमन र प्रवर्द्धनका काम सञ्चालन गर्दा स्रोत–साधनको सदुपयोग हुने, दोहोरोपन हट्ने तथा सञ्चार क्षेत्रलाई थप प्रभावकारी सेवा दिन सकिने विश्वास सरकारले लिएको उनले बताए।

 

  • लोड हुँदैछ...
  • Loading...
  • लोड हुँदैछ...