आज्ञा खबर
जनकपुरधाम
अन्य प्रदेशको राजनीतिक समीकरणमा परिवर्तनको चर्चा भइरहेका बेला मधेश प्रदेशमा भने नेपाली कांग्रेस नेतृत्वको सरकार तत्काल नबदलिने भएको छ। सरकारमा सहभागी दलहरूले प्रदेशस्तरको गठबन्धनलाई निरन्तरता दिने प्रतिबद्धता दोहोर्याएका छन्।
हाल मधेश प्रदेशमा मुख्यमन्त्री कृष्णप्रसाद यादवको नेतृत्वमा नेपाली कांग्रेस, नेकपा एमाले र नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सम्मिलित सरकार सञ्चालनमा छ। केन्द्रमा कांग्रेस–एमाले सम्बन्धमा नयाँ समीकरण बन्ने चर्चाले अन्य प्रदेशमा राजनीतिक तरंग उत्पन्न गरे पनि त्यसको प्रभाव मधेशमा नपर्ने सरकार पक्षको भनाइ छ।
यसै सन्दर्भमा मुख्यमन्त्री कृष्णप्रसाद यादव, एमाले संसदीय दलका नेता सरोजकुमार यादव तथा अर्थमन्त्री एवं नेकपा संसदीय दलका नेता युवराज भट्टराईबीच सरकारको भविष्यबारे छलफल भएको थियो। छलफलमा हालको गठबन्धनलाई यथावत् राख्दै सरकारलाई स्थायित्व दिने विषयमा सहमति भएको जनाइएको छ।
सरकार विस्तारअघि गत जेठ १२ गते तीन दलबीच निर्वाचन सम्पन्न नहुन्जेलसम्म सहकार्यलाई निरन्तरता दिने लगायतका १५ बुँदे सहमति भएको थियो। सोही सहमतिअनुसार सरकार अघि बढ्ने नेताहरूले बताएका छन्।
एमाले संसदीय दलका नेता सरोजकुमार यादवले प्रदेशको राजनीतिक अवस्था केन्द्रभन्दा फरक भएकाले केन्द्रमा हुने परिवर्तनका आधारमा प्रदेश सरकार परिवर्तन गर्नुपर्ने आवश्यकता नरहेको बताए। उनका अनुसार विगतमा पनि केन्द्र र प्रदेशमा फरक–फरक राजनीतिक समीकरणमा सरकार सञ्चालन भएको अभ्यास रहेकाले मधेशको गठबन्धनमा कुनै असर पर्ने अवस्था छैन।
अर्थमन्त्री युवराज भट्टराईले पनि मधेश प्रदेशको गठबन्धन विशेष राजनीतिक परिस्थितिमा बनेको उल्लेख गर्दै हालै सर्वसम्मत रूपमा बजेट पारित भएको तथ्यले सरकारप्रति साझेदार दलहरूको विश्वास अझ बलियो भएको बताए। उनले प्रदेश सरकारलाई अन्य प्रदेशको राजनीतिक उतारचढावले असर नगर्ने दाबी गरे।
मुख्यमन्त्री कृष्णप्रसाद यादव गत मंसिर १९ गते कांग्रेस, जसपा नेपाल, जनमत पार्टी, नेकपा माओवादी केन्द्र, लोसपा, एकीकृत समाजवादी लगायतका दलका ७७ प्रदेशसभा सदस्यको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका थिए। पछिल्लो छलफलसँगै मधेश प्रदेशमा वर्तमान गठबन्धन सरकार आगामी निर्वाचनसम्म कायम रहने सम्भावना अझ बलियो बनेको राजनीतिक वृत्तमा चर्चा छ।
