आज्ञा खबर
सर्लाही
उखु किसानलाई लामो समयदेखि भुक्तानी गर्नुपर्ने २२ करोड रुपैयाँभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिल प्रालिका दुई सञ्चालक पक्राउ परेका छन्।
नेपाल प्रहरीले आपराधिक लाभ (क्रिमिनल बेनिफिट) सम्बन्धी मुद्दामा फरार रहेका पश्चिम नवलपरासीको रामग्राम नगरपालिका–२ निवासी शैलेन्द्र गुप्ता र सर्लाहीको हरिपुर नगरपालिका–१ घर भई हाल पश्चिम नवलपरासीमा बस्दै आएका विनोद साह कलवारलाई पक्राउ गरेको जनाएको छ।
प्रहरीका अनुसार दुवै सञ्चालकले उखु किसानलाई तिर्नुपर्ने करिब २२ करोड रुपैयाँभन्दा बढी रकम लामो समयसम्म भुक्तानी नगरी गैरकानुनी लाभ लिएको आरोपमा उनीहरूविरुद्ध मुद्दा दर्ता भएको थियो। त्यसपछि फरार रहेका उनीहरूलाई खोजी गर्ने क्रममा पक्राउ गरिएको हो।
पक्राउ परेका दुवै जनामाथि आपराधिक लाभ (क्रिमिनल बेनिफिट) सम्बन्धी कसुरमा अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ। साथै आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको पनि प्रहरीले जानकारी दिएको छ।
