आज्ञा खबर
महोत्तरी
शुक्रबार करिब डेढ घण्टासम्म निरन्तर परेको अविरल वर्षाले महोत्तरीको सदरमुकाम जलेश्वर जलमग्न बनेको छ। भारी वर्षापछि जलेश्वर बजारसहित आसपासका अधिकांश क्षेत्र डुबानमा परेका छन्।
वर्षाका कारण जलेश्वरका मुख्य तथा भित्री सडकमा एकदेखि तीन फिटसम्म पानी जम्दा सवारीसाधन सञ्चालन र सर्वसाधारणको आवतजावत प्रभावित भएको छ। सडकहरू जलमग्न भएपछि दैनिक जनजीवनसमेत कष्टकर बनेको स्थानीयवासीले बताएका छन्।
शहरी क्षेत्रमा प्रभावकारी ढल निकासको व्यवस्था नहुँदा वर्षाको पानीसँगै प्लास्टिकजन्य फोहोर तथा अन्य फोहोरमैला सडकभरि फैलिएको छ। यसले सरसफाइसँगै स्वास्थ्य जोखिमसमेत बढाएको स्थानीयको गुनासो छ।
डुबानका कारण महेन्द्रचोकस्थित हनुमान मन्दिर पानीले घेरेको छ भने जलेश्वर नगरपालिका–२ मा रहेको ऐतिहासिक राजदेवी मन्दिर परिसर पनि जलमग्न भएको छ। धार्मिक स्थलहरूमा समेत पानी पसेपछि दर्शनार्थी र स्थानीयवासी प्रभावित भएका छन्।
स्थानीयवासीले वर्षायाम सुरु हुनुअघि नै प्रभावकारी ढल व्यवस्थापन र जल निकासको दीर्घकालीन समाधान गर्न सम्बन्धित निकायसँग माग गरेका छन्।
