आज्ञा खबर
रौतहट
रौतहटको ईशनाथ नगरपालिका–३, औरैयामा जग्गा सम्बन्धी विवाद हिंसात्मक बन्दा चक्कु प्रहारबाट एक जनाको मृत्यु भएको छ।
मृत्यु हुनेमा ईशनाथ नगरपालिका–१, बन्जरहाका ६० वर्षीय वुटन साह रहेका छन्। उनी केही समयदेखि औरैयास्थित आफ्ना ८० वर्षीय ससुरा रामबहादुर साहको घरमा बस्दै आएका थिए।
प्रहरीका अनुसार विवादका क्रममा स्थानिय वुटन साहको पिठ्युमा चक्कु प्रहार भएको थियो भने रामबहादुर साहको टाउकोमा चोट लागेको छ। घाइते रामबहादुर साहको स्थानीय अस्पतालमा उपचार भइरहेको छ।
गम्भीर घाइते वुटन साहलाई उपचारका लागि प्रादेशिक अस्पताल गौर लगिएको भए पनि उपचारकै क्रममा मंगलबार राति चिकित्सकले मृत घोषणा गरेका हुन्।
जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक वसन्त गौतमका अनुसार घटनामा संलग्न भएको आरोपमा ईशनाथ नगरपालिका–३ का २६ वर्षीय राममहेश्वर साह र उनका ६३ वर्षीय बुबा रामअवतार साहलाई प्रहरीले नियन्त्रणमा लिएको छ। घटनाको कारण, पृष्ठभूमि तथा अन्य पक्षबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।
स्थानीयवासीका अनुसार जग्गाको स्वामित्वलाई लिएर लामो समयदेखि चल्दै आएको विवाद चर्किएपछि उक्त घटना भएको हो।
