एकीकृत साकोसको छैटौँ वार्षिकोत्सव सम्पन्न, सहकारीलाई सामाजिक विकाससँग जोड्ने प्रतिबद्धता

[sharethis-inline-buttons]

निकेश खनाल

बर्दिबास

महोत्तरीको बर्दिवासमा रहेको एकीकृत बचत तथा ऋण सहकारी संस्था (साकोस) को छैठौँ वार्षिकोत्सव मंगलबार बर्दिबासमा विविध कार्यक्रमका साथ सम्पन्न भएको छ।

संस्थाका अध्यक्ष उत्तम कुमार श्रेष्ठको अध्यक्षता तथा बर्दिबास नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राममणि अधिकारीको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा राष्ट्रिय सहकारी महासङ्घका सञ्चालक तथा महिला केन्द्रीय बहुउद्देश्यीय सहकारी संस्थाकी अध्यक्ष शारदा दाहाल, भूमि प्रशासन कार्यालय बर्दिबासका अधिकृत सुनिल पौडेल, इलाका प्रशासन कार्यालय बर्दिबासका प्रमुख माधवराज न्यौपाने, बर्दिबास नगरपालिकाका सेवा निवृत्त अधिकृत गणेश दाहाललगायतको उपस्थिति रहेको थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष श्रेष्ठले सहकारीको मूल उद्देश्य बचत तथा ऋण कारोबारमा मात्र सीमित नभई आत्मनिर्भरता, उद्यमशीलता, सामाजिक उत्तरदायित्व र सामूहिक समृद्धि हासिल गर्नु रहेको बताए। उनले संस्थाले वित्तीय सेवासँगै शिक्षा, सीप विकास, उद्यमशीलता प्रवर्द्धन तथा सामाजिक उत्तरदायित्वका कार्यक्रमलाई समान प्राथमिकताका साथ अघि बढाउँदै सञ्चालन गर्दै आएको उल्लेख गरे।

उनले आगामी दिनमा सदस्यहरूको आर्थिक उन्नतिसँगै शिक्षा, स्वास्थ्य, वातावरण संरक्षण, युवा तथा महिला सशक्तीकरण, सीपमूलक तालिम तथा सामाजिक सचेतनामूलक कार्यक्रमलाई थप विस्तार गर्दै सहकारीलाई समुदायसँग जोडिएको जिम्मेवार र उदाहरणीय संस्थाका रूपमा विकास गर्ने प्रतिबद्धता व्यक्त गरे।

वार्षिकोत्सवको अवसरमा “बर्दिबास नगरपालिकाको सामाजिक विकासमा सहकारीको भूमिका” विषयक विद्यालयस्तरीय वक्तृत्वकला प्रतियोगिता आयोजना गरिएको थियो। प्रतियोगितामा बर्दिबासका १० वटा विद्यालयका विद्यार्थी सहभागी भएका थिए।

प्रतियोगितामा सन साइन बोर्डिङ स्कुलकी कक्षा १० मा अध्यनरत छात्रा सुजाता भुजेल प्रथम हुँदै सात हजार रुपैयाँ पुरस्कार प्राप्त गरिन्। त्यसैगरी जनता नमुना माध्यमिक विद्यालय बर्दिबास–२ की कक्षा १० मा अध्यनरत छात्रा अनिमा सिंह र ग्लोबल एकेडेमी बर्दिबास–१ का कक्षा ९ का छात्र कुशल कार्की संयुक्त रूपमा द्वितीय हुँदै जनही पाँच हजार पाँच सय रुपैयाँ पुरस्कार प्राप्त गरे। मोडर्न गुरुकुल बोर्डिङ स्कुल बर्दिबास–१ का कक्षा १० का छात्र सौगात सापकोटा तृतीय हुँदै चार हजार रुपैयाँ पुरस्कारबाट सम्मानित भए।

प्रतियोगिताको निर्णायक मण्डलमा भूमि प्रशासन कार्यालय बर्दिबासका अधिकृत सुनिल पौडेल, इलाका प्रशासन कार्यालय बर्दिबासका प्रमुख माधवराज न्यौपाने तथा बर्दिबास नगरपालिकाको शिक्षा शाखाका निवृत्त उपसचिव गणेश दाहाल रहेका थिए।

वार्षिकोत्सवकै अवसरमा संस्थाले शेयर सदस्यका परिवारका १० जना जेहेन्दार बाल सदस्य विद्यार्थीलाई स्टेशनरी सामग्री वितरण गरेको थियो। साथै शेयर सदस्य तथा उनीहरूका परिवारलाई रोजगारीसँग जोड्ने उद्देश्यले सञ्चालन गरिएको सातदिने धूप तथा फूलबत्ती निर्माण तालिम सम्पन्न गरी सहभागीलाई प्रमाणपत्र वितरण गरिएको थियो।

तालिममा धूप निर्माणतर्फ उत्कृष्ट हुने तीन जना तथा फूलबत्ती निर्माणतर्फ उत्कृष्ट हुने तीन जनालाई संस्थाले विशेष पुरस्कार प्रदान गरेको संस्थाले जनाएको छ। त्यस्का साथै संस्थाले वक्तृत्वकला प्रतियोगितामा सहभागी सबै विद्यालयका शिक्षक तथा विद्यार्थीलाई मायाको चिनो प्रदान गरेको थियो।

कार्यक्रमको समापन गर्दै संस्थाका अध्यक्ष श्रेष्ठले सहकार्य, आत्मनिर्भरता र सामाजिक उत्तरदायित्वमार्फत समृद्ध समाज निर्माण गर्ने अभियानमा एकीकृत साकोस निरन्तर सक्रिय रहने प्रतिबद्धता दोहोर्याए।

 

  • लोड हुँदैछ...
  • Loading...
  • लोड हुँदैछ...