आज्ञा खबर
सर्लाही
सर्लाहीको बागमती नगरपालिकाले ३ सय८६ जना किसानलाई ५० प्रतिशत अनुदानमा कृषि उपकरण वितरण गरेको छ।
कृषि यान्त्रिकीकरण कार्यक्रमअन्तर्गत नगरपालिकाले ८३ वटा मकै रोप्ने मेसिन र ३ सय३ वटा विषादी छर्ने (स्प्रे) मेसिन किसानलाई वितरण गरेको हो।
नगरपालिकाको कृषि शाखा प्रमुख अवधेश झाले राष्ट्रिय कृषि आधुनिकीकरण परियोजनाले यस क्षेत्रलाई मकै सुपरजोन घोषणा गरेपछि किसानबाट यस्ता उपकरणको माग बढ्दै गएको जानकारी दिनुभयो।
उहाँका अनुसार ५० प्रतिशत अनुदानमा प्रतिगोटा मकै रोप्ने मेसिन चार हजार ९ सय४५ रुपैयाँ तथा विषादी छर्ने स्प्रे मेसिन एक हजार ९ सय१० रुपैयाँमा किसानलाई उपलब्ध गराइएको हो।
नगरपालिकाले कुल नौ लाख ८५ हजार १ सय६५ रुपैयाँको लागतमा कृषि उपकरण वितरण गरेको जनाएको छ। उपकरण वितरणपछि किसान उत्साहित भएका छन् र यसबाट कृषि उत्पादन तथा श्रम लागत घटाउन सहयोग पुग्ने विश्वास गरिएको छ।
