आज्ञा खबर
काठमाडौं
काठमाडौंको माइतीघर मण्डलमा Civics Innovation Space द्वारा प्रस्तुत सडक नाटकले नेपालको वर्तमान सामाजिक, शैक्षिक तथा आर्थिक यथार्थलाई प्रभावकारी रूपमा उजागर गरेको छ। विशेषगरी ग्रामीण क्षेत्रबाट कक्षा ११ र १२ अध्ययनका लागि छात्रवृत्तिमा सहर आएका विद्यार्थीहरूले भोग्नुपर्ने चुनौतीलाई केन्द्रमा राखेर नाटक मञ्चन गरिएको हो।
सडक नाटकमार्फत गाउँको परिवेशबाट उच्च शिक्षाको खोजीमा सहर आएका विद्यार्थीहरूको संघर्ष, आर्थिक अभाव, बसोबास व्यवस्थापन, अध्ययनको दबाब तथा भविष्यप्रतिको अन्योलतालाई जीवन्त रूपमा प्रस्तुत गरिएको थियो। नाटकले विद्यार्थीहरूले सामना गर्ने वास्तविक समस्याहरूलाई समाज र सरोकारवाला निकायसमक्ष उजागर गर्ने प्रयास गरेको आयोजकले जनाएको छ।
नाटकको मुख्य सन्देश “Learn and Earn” अर्थात् पढ्दै कमाउँदै गर्ने संस्कृतिको विकास आवश्यक रहेको विषयमा केन्द्रित थियो। विद्यार्थीहरूका लागि पार्ट–टाइम रोजगारीका अवसर विस्तार गर्न सके उनीहरूको आर्थिक बोझ कम हुनुका साथै व्यवहारिक ज्ञान र कार्यअनुभव प्राप्त गर्न सकिने धारणा नाटकमार्फत प्रस्तुत गरिएको थियो।
यसैगरी, कार्यक्रममा Seed Economy को अवधारणालाई समेत अगाडि सारिएको छ। सानो स्तरबाट सुरु गरिने आर्थिक गतिविधि, उद्यमशीलता र आत्मनिर्भर सोचको विकासले युवाहरूलाई भविष्यमा सक्षम नागरिक बनाउन सहयोग पुग्ने सन्देश नाटकले दिएको छ।
नाटकको अर्को महत्वपूर्ण पक्ष शिक्षालाई सीपसँग जोड्नुपर्ने आवश्यकतामाथि केन्द्रित थियो। विद्यालय तहदेखि नै व्यवहारिक तथा व्यावसायिक शिक्षालाई पाठ्यक्रममा समावेश गर्नुपर्ने, साथै Occupation-Based Training जस्ता कार्यक्रम प्रभावकारी रूपमा सञ्चालन गर्न सके विद्यार्थीहरूले अध्ययनसँगै रोजगार तथा स्वरोजगारका अवसर सिर्जना गर्न सक्ने विश्वास व्यक्त गरिएको थियो।
सडक नाटकले एक सामान्य विद्यार्थीले भोग्नुपर्ने आर्थिक, सामाजिक तथा शैक्षिक समस्याहरूलाई यथार्थपरक रूपमा चित्रण गर्दै ती समस्याको दीर्घकालीन समाधानका लागि सीपमूलक शिक्षा, व्यावसायिक तालिम, रोजगारमुखी अध्ययन प्रणाली तथा Seed Economy जस्ता अवधारणाको प्रभावकारी कार्यान्वयन आवश्यक रहेको सन्देश दिएको छ।
आयोजकका अनुसार युवाहरूको क्षमता विकास, आत्मनिर्भरता र व्यवहारिक शिक्षाको प्रवर्द्धनमार्फत समाजमा सकारात्मक परिवर्तन ल्याउने उद्देश्यले यस्ता जनचेतनामूलक कार्यक्रम सञ्चालन गरिएको हो। सडक नाटक हेर्न माइतीघर मण्डलमा उपस्थित सर्वसाधारण, विद्यार्थी तथा विभिन्न क्षेत्रका सरोकारवालाहरूको उल्लेख्य सहभागिता रहेको थियो।






