विपन्न महिलाको आत्मनिर्भरताको आधार बन्दै नगरपालिका खयरमाराका कृषक समुहलाई पाडा बितरण

[sharethis-inline-buttons]

आज्ञा खबर

बर्दिवास

ग्रामीण भेगका विपन्न महिलालाई आर्थिक रूपमा सशक्त र आत्मनिर्भर बनाउने उद्देश्य राखेर बर्दिवास नगरपालिकाले सञ्चालन गरेको पाडा वितरण कार्यक्रमले बर्दिवास नगरपालिका११खयरमाका महिलामा नयाँ उत्साह थपेको छ। बर्दिवास नगरपालिका–११ खयरमारास्थित ईन्द्रकाली महिला कृषक समूहमा आबद्ध २५ जना महिलाले अनुदानमा पाडा पाएपछि पशुपालनमार्फत आयआर्जन वृद्धि गर्ने सपना बुन्न थालेका छन्।

नगरपालिकाले समूहमा आबद्ध प्रत्येक महिलालाई दुई–दुई वटा पाडाका दरले कुल ५० वटा पाडा वितरण गरेको हो। प्रतिपाडा १५ हजार रुपैयाँका दरले करिब ७ लाख ५० हजार रुपैयाँ बराबरको अनुदान उपलब्ध गराइएको समूहकी अध्यक्ष नमिता कुमारी धानुकले जानकारी दिइन्। उनका अनुसार यस कार्यक्रमले विशेष गरी आर्थिक अभावका कारण उद्यम गर्न नसकेका महिलालाई पशुपालन व्यवसायमा आकर्षित गर्ने विश्वास लिइएको छ।

ग्रामीण क्षेत्रमा महिलाको श्रम र योगदान उल्लेखनीय भए पनि आर्थिक अवसरको अभावले उनीहरू पछाडि परेको यथार्थ छ। यही अवस्थालाई परिवर्तन गर्न नगरपालिकाले कृषि तथा पशुपालनलाई केन्द्रमा राखेर विभिन्न आयआर्जनमूलक कार्यक्रम सञ्चालन गर्दै आएको छ। पाडा वितरण कार्यक्रम पनि त्यसैको निरन्तरता हो।

कार्यक्रममा बोल्दै बर्दिवास नगरपालिकाका नगरप्रमुख प्रह्लाद कुमार क्षेत्रीले महिलालाई उत्पादन र उद्यमसँग जोडेर आर्थिक रूपमा सक्षम बनाउनु नगरपालिकाको प्रमुख लक्ष्य रहेको बताए। उनका अनुसार कृषि र पशुपालनमार्फत ग्रामीण भेगका विपन्न महिलाको आयस्तर वृद्धि गर्दै आत्मनिर्भर बनाउने अभियानलाई आगामी दिनमा अझ प्रभावकारी रूपमा अगाडि बढाइनेछ।

नगरप्रमुख क्षेत्रीले महिला सशक्तीकरणका कार्यक्रमलाई केवल औपचारिकतामा सीमित नराखी व्यवहारिक र परिणाममुखी बनाउनुपर्नेमा जोड दिए। उनले समूहमा आबद्ध महिलालाई सामूहिक भावना, परिश्रम र एकताका साथ कार्यक्रमलाई सफल बनाउन आग्रह गर्दै पशुपालन व्यवसायलाई दीर्घकालीन आम्दानीको स्रोतका रूपमा विकास गर्नुपर्ने बताए।

यस कार्यक्रमले केवल पाडा वितरणमा मात्र सीमित नभई पशुपालनको सम्पूर्ण व्यवस्थापनमा पनि सहयोग पुर्‍याउने विशेषता बोकेको छ। बर्दिवास नगरपालिका प्रमुख प्रशाशकिय अधिकृत राममणि अधिकारीका अनुसार नगरपालिकाले आफ्नै बजेटबाट पाडा खरिद गरी वितरण गरेको हो। साथै पाडाको एक वर्षसम्मको जीवन बीमा, आवश्यक खोप, भिटामिन तथा बिरामी पर्दा आवश्यक औषधि उपचारको व्यवस्था समेत निःशुल्क रूपमा उपलब्ध गराइनेछ।

नगरपालिकाको यो पहलले महिलालाई व्यवसायिक पशुपालनतर्फ आकर्षित गर्ने मात्र होइन, स्थानीय स्तरमै मासु उत्पादन बढाएर ग्रामीण अर्थतन्त्रलाई समेत चलायमान बनाउने अपेक्षा गरिएको छ। प्रारम्भिक चरणमा समूहले मासु उत्पादनलाई प्राथमिकतामा राख्दै शत प्रतिशत अनुदानमा पाडा पालन कार्यक्रम सञ्चालन गर्ने लक्ष्य लिएको छ।

खयरमाराका महिलाका लागि यो कार्यक्रम केवल अनुदानको सहायता मात्र होइन, आत्मनिर्भरतातर्फको यात्राको एउटा महत्वपूर्ण अवसर पनि बनेको छ। आर्थिक अवसरको खोजीमा रहेका ग्रामीण महिलालाई उत्पादनमूलक कार्यमा जोड्दै उनीहरूको जीवनस्तर सुधार गर्ने नगरपालिकाको प्रयासले स्थानीय स्तरमा सकारात्मक परिवर्तनको संकेत देखाउन थालेको छ।

यदि यस्ता कार्यक्रमलाई निरन्तरता दिँदै बजार व्यवस्थापन, प्राविधिक तालिम र उद्यमशीलता विकाससँग जोड्न सकियो भने ग्रामीण महिलाको आर्थिक सशक्तीकरणमा अझ ठूलो उपलब्धि हासिल गर्न सकिने देखिन्छ। बर्दिवास नगरपालिकाको यो पहल त्यस दिशातर्फको एउटा उदाहरणीय कदमका रूपमा स्थापित हुँदै गएको छ।

 

  • लोड हुँदैछ...
  • Loading...
  • लोड हुँदैछ...