आज्ञा खबर
बर्दिवास
गाउँघरको आर्थिक समृद्धिको आधार मानिने कृषि तथा पशुपालनलाई थप व्यवस्थित, आधुनिक र दिगो बनाउने उद्देश्यले बर्दिवास नगरपालिकाले सञ्चालन गर्दै आएको कार्यक्रमले स्थानीय महिला कृषकहरूमा नयाँ उत्साह थपेको छ। नगरपालिकाको सहयोगमा बर्दिवास–११ खयरमारास्थित सरस्वती महिला कृषक समूहका सदस्यहरूले जलवायु मैत्री सुधारिएको गोठ प्राप्त गरेपछि पशुपालन व्यवसायलाई थप प्रभावकारी रूपमा अघि बढाउने विश्वास व्यक्त गरेका छन्।
आर्थिक वर्ष २०८२/८३ अन्तर्गत सञ्चालन गरिएको गाई–भैँसी स्रोत कार्यक्रममार्फत नगरपालिकाले ५ लाख ५० हजार रुपैयाँ अनुदान उपलब्ध गराएको हो। उक्त अनुदानसँगै समूहमा आबद्ध २० जना महिला किसानको थप आर्थिक सहभागितामा निर्माण गरिएको जलवायु मैत्री गोठ हालै एक कार्यक्रमबीच हस्तान्तरण गरिएको छ।

बर्दिवास नगरपालिका पशु सेवा शाखाको आयोजनामा सम्पन्न कार्यक्रममा नगरप्रमुख प्रह्लाद कुमार क्षेत्रीले कृषि र पशुपालनलाई स्थानीय अर्थतन्त्रको मेरुदण्डका रूपमा लिँदै महिलाको आर्थिक सशक्तीकरणका लागि नगरपालिकाले विशेष प्राथमिकतासहित विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको बताए। उनका अनुसार कृषकको आयआर्जन वृद्धि, आधुनिक पशुपालन प्रवर्द्धन तथा वातावरणमैत्री कृषि प्रणालीको विकासका लागि यस्ता योजनालाई आगामी वर्षहरूमा समेत निरन्तरता दिइनेछ।
“ग्रामीण अर्थतन्त्रलाई बलियो बनाउन महिलाको सक्रिय सहभागिता अपरिहार्य छ,” नगरप्रमुख क्षेत्रीले भने, “कृषि र पशुपालनलाई व्यावसायिक तथा दिगो बनाउने दिशामा नगरपालिका प्रतिबद्ध छ।”
स्थानीय महिलाहरूलाई आत्मनिर्भर बनाउने उद्देश्यले सञ्चालित कार्यक्रमले सामाजिक तथा आर्थिक रूपमा पछाडि परेका समुदायमा समेत सकारात्मक प्रभाव पारिरहेको छ। सरस्वती महिला कृषक समूहकी अध्यक्ष सुशीला देवी काफ्लेले नगरपालिकाले सञ्चालन गरिरहेका निःशुल्क पशु वितरण, कृषि सामग्रीमा अनुदान तथा गोठ सुधार कार्यक्रमले विपन्न, दलित र सीमान्तकृत समुदायको जीवनस्तर उकास्न महत्वपूर्ण भूमिका खेलेको बताइन्।
उनले कृषकमैत्री कार्यक्रमबाट स्थानीय किसानले प्रत्यक्ष लाभ लिइरहेको उल्लेख गर्दै नगरप्रमुख क्षेत्री र सम्पूर्ण नगरपालिका परिवारप्रति आभार व्यक्त गरिन्।
निर्माण तथा सुधार गरिएको जलवायु मैत्री गोठमा दुईवटा गाई वा भैँसी सहज रूपमा राख्न सकिने व्यवस्था गरिएको छ। आधुनिक संरचनायुक्त गोठले पशुको स्वास्थ्य संरक्षण, सरसफाइ व्यवस्थापन तथा उत्पादन वृद्धि गर्न सहयोग पुग्ने अपेक्षा गरिएको पशु सेवा शाखाले जनाएको छ।
जलवायु परिवर्तनका चुनौतीबीच पशुपालनलाई सुरक्षित, व्यवस्थित र उत्पादनमुखी बनाउने उद्देश्यले निर्माण गरिएका यस्ता संरचनाले किसानलाई दीर्घकालीन लाभ पुर्याउने विश्वास गरिएको छ। स्थानीय सरकारको पहलमा सञ्चालन गरिएका कार्यक्रमले पशुपालन व्यवसायलाई आधुनिक र दिगो बनाउँदै ग्रामीण अर्थतन्त्र सुदृढीकरणमा समेत टेवा पुग्ने अपेक्षा गरिएको छ।
महिलाको श्रम, स्थानीय सरकारको सहयोग र आधुनिक प्रविधिको संयोजनले खयरमाराका किसानका लागि पशुपालन व्यवसायमा नयाँ सम्भावनाको ढोका खोलिदिएको छ।






