जनकपुरधामलाई ‘विवाह गन्तव्य’ बनाउने सङ्घीय घोषणा

[sharethis-inline-buttons]

आज्ञा खबर
जनकपुरधाम

माता सीताको जन्मभूमिका रूपमा परिचित जनकपुरधामलाई विवाह गन्तव्य (वेडिङ डेस्टिनेसन) का रूपमा विकास गर्ने सङ्घीय सरकारको घोषणाले मधेस प्रदेशमा नयाँ आशा जगाएको छ। आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत सरकारले धार्मिक, सांस्कृतिक तथा पर्यटन प्रवर्द्धनलाई जोड दिँदै जनकपुरधामको पहिचानलाई थप सशक्त बनाउने संकेत गरेको हो।

सङ्घीय सरकारका अर्थमन्त्री डा स्वर्णिम वाग्ले ले शुक्रबार सङ्घीय संसद्मा प्रस्तुत बजेट वक्तव्यमार्फत जनकपुरधामलाई विवाह गन्तव्यको रूपमा विकास गरिने घोषणा गरेका हुन्। बजेटमा धार्मिक पर्यटनसँग जोडिएका पूर्वाधार विस्तारलाई प्राथमिकता दिँदै राम–जानकीसँग सम्बन्धित सडक सञ्जाल सुधारका कार्यक्रम अघि सारिएको छ।

सरकारले विशेषगरी रामजानकी पथ तथा रामजानकी परिक्रमा मार्गको स्तरोन्नतिका लागि बजेट विनियोजन गरेको जनाएको छ। त्यस्तै मधेस प्रदेशको यातायात, शिक्षा, स्वास्थ्य तथा पोषण सुधारसँग सम्बन्धित विभिन्न योजनालाई पनि प्राथमिकतामा राखिएको बजेट वक्तव्यमा उल्लेख गरिएको छ। मधेसको प्रमुख पूर्वाधारका रूपमा रहेको हुलाकी सडक, रेल सेवा तथा पूर्व–पश्चिम राजमार्ग सुधारलाई समेत बजेटले समेटेको छ।

सरकारको घोषणाप्रति जनकपुरधामका उद्योगी–व्यवसायी तथा सरोकारवालाले सकारात्मक प्रतिक्रिया जनाएका छन्। उद्योग वाणिज्य सङ्घ जनकपुरधाम का अध्यक्ष सुरेन्द्र भण्डारी ले विवाह पर्यटनको अवधारणाले जनकपुरधाममा आन्तरिक तथा बाह्य पर्यटकको आकर्षण बढाउन सक्ने विश्वास व्यक्त गरे।

उनका अनुसार यस योजनाले होटल, यातायात, खाद्य सेवा र स्थानीय व्यापार क्षेत्रलाई चलायमान बनाउँदै रोजगारी सिर्जनामा समेत सहयोग पुग्न सक्छ। साथै सरकारले करको दरमा गरेको सहुलियत व्यवस्थाले उद्योगी–व्यवसायीलाई केही राहत मिल्ने र आर्थिक गतिविधि विस्तारमा सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको उनले बताए।

जनकपुरधाम धार्मिक र सांस्कृतिक सम्पदाले समृद्ध क्षेत्र भएकाले विवाह पर्यटनको अवधारणा कार्यान्वयन हुन सके मधेस प्रदेशको पर्यटन अर्थतन्त्रलाई नयाँ गति मिल्ने अपेक्षा गरिएको छ।

 

  • लोड हुँदैछ...
  • Loading...
  • लोड हुँदैछ...