बाढीबाट क्षति पुगेको सिन्धुली सडक पुनर्निर्माण सुरु, जापानको करिब २ अर्ब ३० करोड रुपैयाँ सहयोग

[sharethis-inline-buttons]

आज्ञा खवर
वर्दिबास

बाढी र पहिरोका कारण क्षति पुगेको सिन्धुली सडकको पुनर्निर्माण कार्य औपचारिक रूपमा सुरु भएको छ। आयोजित कार्यक्रममा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव गोपालप्रसाद सिग्देल, नेपालका लागि जापानका राजदूत माएदा तोरु तथा जाइका नेपालका प्रमुख प्रतिनिधि मात्सुजाकी मिजुकीलगायतको सहभागितामा परियोजनाको शिलान्यास गरिएको हो।

नेपाल सरकार र जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) बीच सन् २०२५ अक्टोबर ३० मा सम्पन्न अनुदान सम्झौताअनुसार जापान सरकारले करिब २ अर्ब ३० करोड रुपैयाँ बराबरको आर्थिक सहायता उपलब्ध गराउनेछ। उक्त सहयोगबाट सिन्धुली सडकको बाढी प्रभावित खण्डको पुनःनिर्माण तथा सडक संरचनालाई थप सुरक्षित र दीर्घकालीन बनाउने काम गरिनेछ।

विशेषगरी सन् २०२४ सेप्टेम्बरमा परेको अविरल वर्षापछि क्षति पुगेको सडक खण्ड–४ लाई पुनःस्थापना गर्ने योजनाअन्तर्गत जोखिमयुक्त क्षेत्रको संरक्षण, सडक विस्तार तथा यातायात सुरक्षामा सुधारका कार्यक्रम सञ्चालन हुनेछन्।

काठमाडौंलाई मध्य तथा पूर्वी तराईसँग जोड्ने सिन्धुली सडक नेपालको महत्वपूर्ण रणनीतिक सडकमार्ग मानिन्छ। जापानी सहयोगमा निर्माण भएको करिब १६० किलोमिटर लामो यस सडकले राजधानी र तराईबीचको यात्रा समय उल्लेखनीय रूपमा घटाएको छ। सडक सञ्चालनमा आएपछि व्यापार, पर्यटन, रोजगारी तथा स्थानीय आर्थिक गतिविधिमा समेत सकारात्मक प्रभाव परेको बताइन्छ।

शिलान्यास समारोहमा सचिव सिग्देलले नेपाल–जापान विकास साझेदारीको उदाहरणका रूपमा यस परियोजनालाई उल्लेख गर्दै पुनर्निर्माण कार्यलाई तीव्र गतिमा सम्पन्न गर्ने प्रतिबद्धता व्यक्त गरे। त्यस्तै जाइका नेपालका प्रमुख प्रतिनिधि मिजुकीले प्राविधिक दृष्टिले चुनौतीपूर्ण सडक खण्डको पुनःनिर्माणमा सहकार्य गर्न पाउनु महत्वपूर्ण अवसर भएको बताए।

परियोजनाको निर्माण कार्य सन् २०२७ को अन्त्यसम्म सम्पन्न गर्ने लक्ष्य राखिएको सम्बन्धित निकायले जनाएको छ।

  • लोड हुँदैछ...
  • Loading...
  • लोड हुँदैछ...