आज्ञा खबर
बर्दिवास
महोत्तरीको बर्दिवास धार्मिक उल्लास र भक्तिमय वातावरणमा रंगिन हुने भएको छ। हिन्दु धार्मिक संस्था स्कुन बर्दिवासको आयोजनामा भगवान जगन्नाथको भव्य तथा दिव्य रथयात्रा आयोजना हुन लागेको हो। जेष्ठ १० गते आइतबार बिहान १० बजेदेखि सुरु हुने रथयात्राले बर्दिवास बजार क्षेत्रलाई धार्मिक उत्सवमय बनाउने तयारी गरिएको छ।
आयोजकका अनुसार रथयात्राको उद्घाटन बर्दिवास नगरपालिकाका नगरप्रमुख प्रह्लाद कुमार क्षेत्रीले रथ तानेरगर्ने कार्यक्रम तय गरिएको छ। नगरप्रमुख स्वयं रथ तानेर यात्राको शुभारम्भ गर्ने कार्यक्रमले धार्मिक सहिष्णुता, सांस्कृतिक संरक्षण र सामुदायिक एकताको सन्देश प्रवाह गर्ने अपेक्षा गरिएको छ।
स्कुन बर्दिवासका अनुसार रथयात्रामा भगवान श्री श्री जगन्नाथ बाबा, बलदेव बाबा तथा सुभद्रा महारानी विराजमान रहेको विशेष रथ प्रयोग गरिनेछ। १५ फिट अग्लो, १० फिट चौडाइ तथा ३० फिट लम्बाइको उक्त रथ धार्मिक आस्था र सांस्कृतिक प्रतीकका रूपमा तयार गरिएको छ। रथसँगै २ सय फिट लामो डोरी रहनेछ, जसलाई श्रद्धालु भक्तजनहरूले सामूहिक रूपमा तानेर धार्मिक सहभागिता जनाउनेछन्। आयोजकले यसलाई केवल धार्मिक अनुष्ठान नभई सामाजिक सद्भाव र सामूहिक आस्थाको उत्सवका रूपमा लिएको जनाएको छ।
रथयात्रा बर्दिवास–१४ स्थित गौतम होटलको प्राङ्गणबाट सुरु हुनेछ। त्यसपछि बर्दिवास–१ स्थित राधाकृष्ण मन्दिर, देउराली माध्यमिक विद्यालय, बर्दिवास चोक, सिन्धुली रोड, जनता बहुमुखी क्याम्पस हुँदै औरही रोड पार गर्दै पुनः बर्दिवास–१४ स्थित स्कुन आश्रममा पुगेर समापन गरिने कार्यक्रम तय गरिएको छ। यात्रा मार्गभर श्रद्धालुहरूको उल्लेख्य उपस्थिति रहने तथा विभिन्न धार्मिक भजन, कीर्तन र भक्तिमय वातावरणले नगर क्षेत्रलाई उल्लासमय बनाउने अपेक्षा गरिएको छ।
स्कुन बर्दिवास आश्रमका धर्मगुरु सदानन्द श्री रामदास का अनुसार भगवान जगन्नाथजीको रथयात्रा विशेषगरी भारतको उडिसामा अत्यन्त महत्वका साथ आयोजना हुँदै आएको धार्मिक परम्परा हो। तर विभिन्न कारणले उक्त स्थलमा पुगेर प्रत्यक्ष रूपमा रथयात्रा अवलोकन गर्न नसकेका श्रद्धालुहरूलाई बर्दिवासमै धार्मिक अनुभूति दिलाउने तथा रथयात्राको ऐतिहासिक र धार्मिक महत्वबारे जानकारी गराउने उद्देश्यले बर्दिवासमा कार्यक्रम आयोजना गर्न लागिएको उहाँले बताउनुभयो।
विशेषगरी भगवान जगन्नाथको रथयात्रा हिन्दु धर्मावलम्बीका लागि आस्था, भक्ति र समर्पणको प्रतीकका रूपमा लिइन्छ। हिन्दु धर्माबलम्बिहरु यस कुरामा विश्वास गर्दछन कि भगवान स्वयं रथमा विराजमान भई भक्तजनमाझ पुग्दा त्यसले धार्मिक ऊर्जा, सकारात्मकता र आध्यात्मिक चेतनाको सन्देश फैलाउँछ। सामूहिक रूपमा रथ तान्ने परम्परालाई सामाजिक समानता, सहयोग र एकताको प्रतीकसमेत मानिन्छ।
आयोजकका अनुसार यस रथयात्रामा नेपालका विभिन्न जिल्लाका साथै छिमेकी मुलुक भारत बाट समेत श्रद्धालु भक्तजन सहभागी हुने अपेक्षा गरिएको छ। यसले बर्दिवासलाई धार्मिक पर्यटन तथा सांस्कृतिक गतिविधिको केन्द्रका रूपमा थप परिचित गराउने विश्वाससमेत लिइएको छ।
स्कुन बर्दिवास आश्रमले सम्पूर्ण जनसमुदायलाई रथयात्रामा सहभागी भई धार्मिक उत्सवको शोभा बढाउन, हिन्दु धर्म र संस्कृतिप्रति ऐक्यबद्धता जनाउन तथा धार्मिक सद्भाव कायम राख्न हार्दिक अनुरोध गरेको छ। बर्दिवासमा पहिलोपटक यति भव्य स्वरूपमा आयोजना हुन लागेको रथयात्राले धार्मिक चेतना मात्र नभई समुदायबीच आपसी सम्बन्ध सुदृढ बनाउनसमेत योगदान पुग्ने विश्वास गरिएको छ।






