आज्ञा खबर
सिन्धुली
सिन्धुलीको बीपी राजमार्ग क्षेत्रमा भएका दुई छुट्टाछुट्टै सवारी दुर्घटनामा गम्भीर घाइते भएका दुई जनाको उपचारकै क्रममा काठमाडौंमा मृत्यु भएको छ। घटनाहरू केही दिनअगाडि भएका भए पनि घाइतेहरूको ज्यान उपचारका क्रममा गएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ।
पहिलो दुर्घटना वैशाख ४ गते बिहान गोलन्जोर गाउँपालिका–७ तल्लो बारा खण्डमा भएको थियो। काठमाडौंबाट तेह्रथुमतर्फ जाँदै गरेको मोटरसाइकल अनियन्त्रित भई सडकबाट करिब ३५ फिट तल खसेको थियो। दुर्घटनामा मोटरसाइकल चालक तेह्रथुम पञ्चकन्या गाउँपालिका–१ का २८ वर्षीय बिनोद लिम्बु गम्भीर घाइते भएका थिए। उनलाई तत्काल उद्धार गरी ललितपुरस्थित मेडिसिटी अस्पताल मा उपचारका लागि लगिएको थियो। लामो समय उपचाररत लिम्बुको सोमबार दिउँसो निधन भएको अस्पताल स्रोतले जनाएको छ।
दोस्रो दुर्घटना वैशाख २० गते कमलामाई नगरपालिका–२ तेहसयस्थित सोही राजमार्ग खण्डमा भएको थियो। गढीतर्फबाट सिन्धुलीतर्फ आउँदै गरेको स्कुटर अनियन्त्रित भई दुर्घटनामा परेको थियो। दुर्घटनामा चालक मकवानपुर हेटौंडा–६ का २५ वर्षीय आदर्श चौलागाईं सामान्य घाइते भएका थिए भने पछाडि सवार ३९ वर्षीय बिकेश घिमिरे गम्भीर घाइते भएका थिए।
गम्भीर घाइते घिमिरेलाई प्रारम्भिक उपचारपछि काठमाडौंको ह्याम्स अस्पताल पठाइएको थियो, जहाँ उपचारकै क्रममा सोमबार साँझ उनको मृत्यु भएको हो। दुर्घटनामा घाइते चालक चौलागाईंको बाँया खुट्टा भाँचिएको थियो। उनको नेपाल अर्थोपेडिक अस्पताल मा उपचारपछि डिस्चार्ज गरिएको र हाल थप निगरानीमा रहेको जनाइएको छ।
प्रहरीका अनुसार दुवै घटनाबारे अनुसन्धान जारी छ। पछिल्लो समय यस राजमार्गमा तीव्र गति, लापरवाहीपूर्ण सवारी सञ्चालन र सडक सुरक्षामा कमीका कारण दुर्घटनाका घटना बढ्दै गएको भन्दै स्थानीयले चिन्ता व्यक्त गरेका छन्।





































