मर्यादित महिनावारी मैत्री’ नमुना वडा बन्ने तयारीमा‘ जब्दी

[sharethis-inline-buttons]

आज्ञा खबर
सर्लाही
सर्लाहीको लालबन्दी नगरपालिका–३, जब्दीलाई यही शुक्रबार औपचारिक रूपमा ‘मर्यादित महिनावारी मैत्री वडा’ घोषणा गर्ने तयारी पूरा भएको छ। वडाभित्र आवश्यक सबै सूचकहरू पूरा भएपछि स्थानीय तह, सरोकारवाला संस्था र समुदायको सहकार्यमा घोषणा कार्यक्रम तय गरिएको हो।

लालबन्दी नगरपालिका, वडा कार्यालय, राधा पौडेल फाउण्डेशन तथा बाल संरक्षण संस्थाको संयुक्त पहलमा उक्त घोषणा हुन लागेको हो। आयोजकका अनुसार जब्दीलाई नेपालमै पहिलो पटक यस्तो पहिचान पाउने वडाका रूपमा स्थापित गर्ने लक्ष्य राखिएको छ।

यसअघि लालबन्दीमा आयोजित अन्तरक्रिया तथा पत्रकार भेटघाट कार्यक्रममा बाल संरक्षण संस्थाकी अध्यक्ष राधा घिमिरेले लामो समयदेखि सञ्चालन हुँदै आएका सचेतनामूलक कार्यक्रमको परिणामस्वरूप यो उपलब्धि सम्भव भएको बताइन्। उनका अनुसार समुदायस्तरमा महिनावारीप्रति सकारात्मक सोच विकास गर्न निरन्तर प्रयास गरिएको छ।

कार्यक्रममा सहभागी विभिन्न समूह—बाल क्लब, महिला समूह, शिक्षक, सञ्चारकर्मी र स्वास्थ्यकर्मी—ले महिनावारीलाई सामान्य जैविक प्रक्रिया मान्दै विभेदरहित व्यवहार अपनाउने प्रतिबद्धता जनाएका छन्। पछिल्लो समय महिनावारीसम्बन्धी खुलेर छलफल गर्ने वातावरण बनेको र पुराना कुसंस्कारहरू क्रमशः हट्दै गएको उनीहरूको भनाइ थियो।

त्यसैगरी, महिनावारीका बेला अस्वच्छ कपडाको प्रयोग घट्दै गएको र स्यानेटरी प्याडको प्रयोग बढ्दै जानु सकारात्मक परिवर्तनको रूपमा उल्लेख गरिएको छ।

कार्यक्रमकी प्रमुख अतिथि, मधेश प्रदेशसभा सदस्य बेची लुंगेलीले अझै पनि केही स्थानमा कायम रहेको छुवाछुत र बार्ने चलन अन्त्य गर्न सामूहिक प्रयास आवश्यक रहेको बताइन्। उनले यस्ता अभियानले समाजमा दीर्घकालीन परिवर्तन ल्याउने विश्वास व्यक्त गरिन्।

वडाध्यक्ष बुद्धदेव चौधरीले आफ्नो वडालाई देशकै पहिलो मर्यादित महिनावारी मैत्री वडा घोषणा गर्न लागिएकोमा गर्व लागेको उल्लेख गर्दै यसले अन्य स्थानका लागि पनि उदाहरण प्रस्तुत गर्ने बताए।

बाल संरक्षण संस्थाले राधा पौडेल फाउण्डेशनसँग सहकार्य गर्दै लालबन्दीका वडा नं. ३, ९ र १० मा महिनावारीसम्बन्धी जनचेतनामूलक कार्यक्रमहरू निरन्तर सञ्चालन गर्दै आएको छ।

  • लोड हुँदैछ...
  • Loading...
  • लोड हुँदैछ...