अज्ञा खबर
जनकपुरधाम
नेपाल बहुसूचक सर्वेक्षण २०८१÷८२ ले मधेस प्रदेशको बालस्वास्थ्य, पोषण र शिक्षाको अवस्था अझै सन्तोषजनक नभएको हालै सार्वजनिक गरिएको नेपाल बहुसूचक सर्वेक्षण २०८१÷८२ ले औंल्याएको छ। प्रतिवेदनले नवजात शिशु मृत्युदर प्रति हजार जन्ममा २० पुगेको र पाँच वर्षमुनिका बालबालिकाको मृत्युदर ३३ रहेको देखाउँदै यो दर राष्ट्रिय औसतभन्दा माथि रहेको जनाएको छ।
पोषणको क्षेत्रमा पनि चुनौती गम्भीर रहेको तथ्याङ्कले देखाउँछ। उमेरअनुसार तौल कम भएका बालबालिकाको संख्या २३.२ प्रतिशत र उचाइ कम भएका ३१.१ प्रतिशत रहेको उल्लेख छ, जसले कुपोषणको समस्या व्यापक रहेको संकेत गर्छ।
शिक्षामा पहुँच पनि कमजोर देखिएको छ। विभिन्न तहमा ८ देखि २२ प्रतिशत बालबालिका विद्यालयभन्दा बाहिर रहेका छन् भने प्रारम्भिक बाल शिक्षामा सहभागी हुने दर २६.३ प्रतिशत मात्र रहेको पाइएको छ।
स्वास्थ्य सेवाको पहुँचमा समेत कमी देखिएको छ। नियमित गर्भ परीक्षण गराउने महिलाको संख्या सीमित छ भने स्वास्थ्य बीमा गर्नेको संख्या अत्यन्त न्यून रहेको छ। साथै, किशोरी प्रजनन दर उच्च हुनु अर्को चुनौतीका रूपमा देखिएको छ।
यता, आधारभूत सेवामा केही सुधार भने देखिएको छ। विद्युत्, टेलिफोन र इन्टरनेटको पहुँच विस्तार हुँदै गएको छ। खानेपानीमा पहुँच राम्रो भए पनि पानीमा जीवाणु भेटिनु स्वास्थ्यका लागि जोखिमपूर्ण हुन सक्ने चेतावनी दिइएको छ।
समग्रमा, मधेस प्रदेशमा भौतिक पूर्वाधारमा केही प्रगति भए पनि मानव विकासका प्रमुख सूचकहरूमा अझै ठूला सुधार आवश्यक रहेको सर्वेक्षणले निष्कर्ष निकालेको छ।





































