आज्ञा खबर
बर्दिवास
श्रमलाई सिपसँग र सिपलाई रोजगारीसँग जोड्दै महिलालाई आत्मनिर्भर बनाउने उद्देश्यले बर्दिवास नगरपालिकाले सञ्चालन गरेको महिलासँग उपप्रमुख सिप विकास कार्यक्रम अन्तर्गत महोत्तरीको बर्दिवास नगरपालिका–१० खयरमारामा दुई महिने सिलाई–कटाई क्षमता अभिवृद्धि तालिम आइतबार सम्पन्न भएको छ। तालिमको समापन कार्यक्रमलाई सम्बोधन गर्दै बर्दिवास नगरपालिकाका नगर प्रमुख प्रह्लाद कुमार क्षेत्रीको भनाई यस्तो रहेको छ ।
बर्दिवास नगरपालिकाको आयोजनामा सञ्चालन भएको तालिममा वडाका ३० जना महिलाहरू सहभागी थिए। स्थानीय तहकै पहलमा महिलालाई स्वरोजगारतर्फ उन्मुख गराउने उद्देश्यसहित सञ्चालन गरिएको तालिमका लागि नगरपालिकाले ५ लाख रुपैयाँ बजेट विनियोजन गरेको थियो।
तालिममा सहभागी महिलाहरूलाई सर्ट, पाइन्ट, गाउन, चौबन्दी चोली लगायत पुरुष तथा महिला दुवैले प्रयोग गर्ने विभिन्न प्रकारका कपडा सिलाउने व्यावहारिक सीप प्रदान गरिएको थियो।
सीपलाई व्यवहारमै उतार्न सकून् भन्ने उद्देश्यले नगरपालिकाले प्रशिक्षार्थीहरूलाई सिलाई मेसिनसमेत उपलब्ध गराएको छ। तालिम अवधिभर अनुभवी प्रशिक्षक पोशन थापा गोदार क्षेत्री ले प्रशिक्षण दिएकी थिईन । तालिम सम्पन्न भएपछि सहभागी महिलाहरूले घरमै बसेर रोजगारी सिर्जना गर्न सक्ने विश्वास व्यक्त गर्दै तालिममा सहभागी महिला सुनिता स्याङ्गबो यसो भन्छिन।
यसैगरी वडा नम्बर १० का अध्यक्ष प्रमोद कुमार मोक्तानले महिलाहरूलाई आर्थिक रूपमा सक्षम बनाउनु नै कार्यक्रमको मुख्य लक्ष्य रहेको बताउँदै भने, “सिप सिकेपछि महिलाहरू आत्मनिर्भर बन्छन्, यसले परिवार र समाजको आर्थिक अवस्था मजबुत बनाउँछ।”
स्थानीय महिलाहरूले यस्तो तालिमले आत्मविश्वास बढाएको र भविष्यमा आफ्नै व्यवसाय सञ्चालन गर्ने बाटो खुलेको प्रतिक्रिया दिदै अर्का सहभागी फुलकुमारी मोक्तान नगर प्रमुख र उप प्रमुखलाई धन्यवाददिदै भन्छिन।
तालिममा महिलाहरुको सक्रिय तथा उत्साहजनक सहभागिता देखेर बर्दिवास नगरपालिकाले आगामी दिनमा पनि यस्ता सीपमूलक कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ।





































