वर्दिवास नगरमा आफ्नो नाममा क्रसर उद्योग देखाउन मेयर क्षेत्रीको चुनौती

[sharethis-inline-buttons]

आज्ञा खवर
वर्दिबास

जिल्ला प्रहरी कार्यालय महोत्तरीद्वारा आयोजित सार्वजनिक सुनुवाइ कार्यक्रम बर्दिवासमा सम्पन्न भएको छ । नागरिक–प्रहरी सम्बन्ध सुदृढ गर्दै सुरक्षा, सेवा प्रवाह तथा सुशासनका विषयमा प्रत्यक्ष संवाद गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो ।
कार्यक्रमको अध्यक्षता जिल्ला प्रशासन कार्यालय महोत्तरीका प्रमुख जिल्ला अधिकारी ईन्द्रदेव यादवले गर्नुभएको थियो भने प्रमुख अतिथिका रूपमा बर्दिवास नगरपालिकाका नगर प्रमुख प्रहलाद कुमार क्षेत्री सहभागी हुनुहुन्थ्यो । कार्यक्रममा जिल्लास्थित सुरक्षा निकायका प्रमुख, विभिन्न सरकारी कार्यालयका प्रतिनिधि, स्थानीय जनप्रतिनिधि, नागरिक समाज, सञ्चारकर्मी तथा सर्वसाधारणको उल्लेखनीय उपस्थिति रहेको थियो ।
सार्वजनिक सुनुवाइ कार्यक्रममा नागरिकहरूले शान्ति सुरक्षा, लागुऔषध नियन्त्रण, ट्राफिक व्यवस्थापन, महिला तथा बालबालिकासँग सम्बन्धित अपराध, घरेलु हिंसा, सेवाग्राहीमैत्री प्रहरी सेवा, उजुरी दर्ता प्रक्रियालगायतका विषयमा आफ्ना जिज्ञासा, गुनासा तथा सुझावहरू राखेका थिए । नागरिकका प्रश्नहरूमा सम्बन्धित निकायका प्रमुखहरूले स्पष्ट जवाफ दिँदै समाधानका उपायबारे जानकारी गराएका थिए ।


कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रमुख जिल्ला अधिकारी ईन्द्रदेव यादवले सार्वजनिक सुनुवाइ नागरिक र प्रशासनबीच विश्वासको सेतु भएको उल्लेख गर्नुभयो । उहाँले नागरिकका समस्या सुन्नु र समाधानका लागि पहल गर्नु प्रशासनको दायित्व भएको बताउँदै सबै निकायले समन्वय र सहकार्यमा काम गर्नुपर्नेमा जोड दिनुभयो ।
प्रमुख अतिथि वर्दिवास नगरपालिकाका नगर प्रमुख प्रहलाद कुमार क्षेत्रीले वर्दिबास नगरपालिकाको कार्यक्षेत्रभित्र आफ्नो नाममा क्रसर उद्योग रहेको प्रमाण देखाउन खुला चुनौती दिनुभएको छ । पछिल्लो समय सामाजिक सञ्जाल तथा केही सार्वजनिक फोरममा आफूलाई वर्दिवास नगरका क्रसर उद्योगीसँग जोडिएको भन्ने आरोप फैलाइएपछि नगर प्रमुख क्षेत्रीले त्यसलाई पूर्ण रूपमा अस्वीकार गर्दै प्रमाणसहित अगाडि आउन चुनौती दिनुभएको हो । सार्वजनिक सुनुवाई कार्यक्रममा बोल्दै नगर प्रमुख क्षेत्रीले आधारहीन आरोपले जनप्रतिनिधिको छवि धूमिल गर्ने प्रयास भएको बताउनुभयो । “यदि मेरो नाममा वर्दिवास नगरभित्र वा यसको क्षेत्रभित्र कुनै पनि क्रसर उद्योग दर्ता भएको प्रमाण कसैले देखाउन सक्छ भने म जुनसुकै कानुनी कारबाही भोग्न तयार छु,” उहाँले भन्नुभयो ।

मेयर क्षेत्रीले नगरप्रमुखको निर्वाचन ताका आफु निर्वाचित भएको २४ घण्टा भित्र अवैध क्रशर उद्योग वन्द गर्ने वताएको कुरा पुन स्मरण गर्दै सोहि अनुसार काम गरेको र अवैध क्रशरमाथि हिजो पनि कारवाहिको लौरो चलाए भोलि पनि चलाउने छु तर सरकारको निति नियम कानुन अनुसुार मापदण्ड भित्र रहेका क्रशरहरुलाई भने संचालनमा रोक्ने कानुन स्थानिय सरकार संग नभएको वताउनु भयो । विकास निर्माणका क्रममा क्रसर उद्योग आवश्यक भए पनि त्यसको सञ्चालन कानुन, वातावरणीय मापदण्ड र प्रक्रियाअनुसार हुनुपर्ने स्पष्ट पार्नुभयो । उहाँले अवैध क्रसर उद्योगविरुद्ध नगरपालिका प्रशासन, जिल्ला प्रशासन कार्यालय तथा सम्बन्धित निकायसँग समन्वय गरेर कडाइका साथ अनुगमन गरिँदै आएको दाबी गर्नुभयो ।
नगर प्रमुख क्षेत्रीका अनुसार पछिल्लो समय नगरपालिकाले अवैध रूपमा सञ्चालित क्रसर उद्योग, ढुंगा–गिट्टी उत्खनन तथा वातावरण प्रदूषण गर्ने गतिविधिमाथि निगरानी बढाएको छ । यही कारणले केही स्वार्थ समूहले नियोजित रूपमा भ्रम फैलाउने काम गरेको उहाँको आरोप छ ।
उहाँले राजनीतिक प्रतिशोध वा व्यक्तिगत स्वार्थका आधारमा लगाइने आरोपले जनताको विश्वास कमजोर पार्न खोजिएको उल्लेख गर्दै तथ्य र प्रमाणबिना लगाइने आरोप स्वीकार्य नहुने स्पष्ट पार्नुभयो । “राजनीति आरोप–प्रत्यारोपमा होइन, काम र नतिजामा हुनुपर्छ,” मेयर क्षेत्रीको भनाइ थियो ।
यस विषयमा स्थानीय तहका जानकारहरू भने क्रसर उद्योग जस्तो संवेदनशील विषयमा पारदर्शिता र तथ्य सार्वजनिक हुनु आवश्यक रहेको बताउँछन् । उनीहरूका अनुसार नगरपालिकाले अवैध क्रसर नियन्त्रणमा निरन्तरता दिएमा वातावरण संरक्षण र जनस्वास्थ्यमा सकारात्मक प्रभाव पर्नेछ ।
कार्यक्रममा जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रमुख प्रहरी उपरिक्षक हेरम्भ शर्माले सुनुवाई कार्यक्रममा सहभागिहरुवाट आएका प्रश्नको जवाफ दिदै हालसम्म भएका गतिविधि, उपलब्धि तथा आगामी योजनाबारे जानकारी गराउँदै नागरिकका सुझावलाई कार्यान्वयनमा ल्याइने प्रतिबद्धता व्यक्त गरेका थिए । धेरै सहभागिहरुले समाजका नकारात्मक विषयमा प्रश्न उठाईरहदा पनि ईलाका प्रहरी कार्यालय वर्दिवासका कार्यालय प्रमुख प्र.ना.उ. विकास वमको कामको भने सवैजनाले प्रशंसा गर्नुभएको हुँदा आफु पनि जिल्लामा यसैगरी प्रशंसित हुनेगरी काम गर्न चाहेको वताए । सार्वजनिक सुनुवाइले नागरिकलाई आफ्ना कुरा खुलस्त राख्ने अवसर मिलेको र यसले प्रशासनिक पारदर्शिता बढाउने सहभागीहरूको धारणा रहेको थियो ।
कार्यक्रम जिल्ला प्रहरी कार्यालय महोत्तरीको आयोजनामा तथा जिल्ला प्रशासन कार्यालय महोत्तरी र ईलाका प्रहरी कार्यालय वर्दिबासको समन्वयमा सम्पन्न भएको हो । आयोजकका अनुसार आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिई नागरिक–प्रशासन सम्बन्धलाई अझ मजबुत बनाइनेछ ।

  • लोड हुँदैछ...
  • Loading...
  • लोड हुँदैछ...