बर्दिबासको वडा नं. १३ लाई बालविवाहमुक्त क्षेत्र घोषणा गर्न अनुगमन तथा घरदैलो कार्यक्रम

[sharethis-inline-buttons]

आज्ञा खबर

बर्दिवास

सेभ द, चिल्ड्रेनको आर्थिक सहयोग सामुदायिक विकास तथा पैरवी मञ्चको समन्वय र सहकार्यमा महोत्तरीको बर्दिबास नगरपालिका वडा नम्बर १३ लाई बालविवाहमुक्त क्षेत्र घोषणा गर्ने तयारीस्वरूप आज अनुगमन तथा घरदैलो कार्यक्रम सञ्चालन गरीएको छ।

नगरप्रमुख प्रह्लाद कुमार क्षेत्रीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा उपप्रमुख तारादेवी महतो, प्रमुख प्रशासकीय अधिकृत राममणि अधिकारी, वडा अध्यक्ष लक्ष्मण सिंह लगायत नगरपालिकाका जनप्रतिनिधि, कर्मचारी तथा समाजका अगुवाहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

कार्यक्रमका क्रममा टोल–टोलमा पुगेर स्थानीय बासिन्दासँग प्रत्यक्ष संवाद गर्दै बालविवाहका कानुनी प्रावधान, सामाजिक असर तथा बालअधिकारका विषयमा जानकारी दिइएको थियो। साथै बालविवाह न्यूनीकरण तथा अन्त्यका लागि समुदायको भूमिका महत्वपूर्ण हुने भन्दै सबैलाइ सचेत र सक्रिय बन्न आग्रह गरिएको छ।

कार्यक्रममा नगरप्रमुख क्षेत्रीले बालविवाहले बालबालिकाको शिक्षा, स्वास्थ्य र भविष्यमा गम्भीर असर पार्ने उल्लेख गर्दै नगरपालिकाले यसलाई पूर्ण रूपमा अन्त्य गर्न नीतिगत तथा व्यवहारिक पहल गर्दै आएको बताए। उपप्रमुख महतोले बालविवाहमुक्त समाज निर्माणका लागि परिवार, विद्यालय र समुदायबीच सहकार्य आवश्यक रहेकोमा जोड दिइन्।

प्रमुख प्रशासकीय अधिकृत अधिकारीले बालविवाह नियन्त्रणका लागि स्थानीय तहको समन्वय, नियमित अनुगमन र जनचेतनामूलक कार्यक्रम निरन्तर गरिने जानकारी दिए। वडा अध्यक्ष सिंहले वडा नम्बर १३ लाई बालविवाहमुक्त क्षेत्रका रूपमा स्थायीत्व कायम राख्न सबै पक्षको साथ र सहयोग आवश्यक रहेको बताए।

घरदैलो तथा अनुगमन कार्यक्रमपछि आवश्यक प्रक्रिया पूरा गरी यही पौष १२ गते वडानम्बर १३ लाई औपचारिक रूपमा बालविवाहमुक्त क्षेत्र घोषणा गरिने नगरपालिकाले जनाएको छ।

 

  • लोड हुँदैछ...
  • Loading...
  • लोड हुँदैछ...