आज्ञा खबर
बर्दिवास
बर्दिवास नगरपालिकाको आयोजनामा तेस्रो मेयर कप (वडा–स्तरीय) क्रिकेट प्रतियोगिता–२०८२ सञ्चालन हुने भएको छ। बर्दिवास नगरपालिकाको नगर खेलकुद विकास समितिको आयोजनामा प्रतियोगिता आगामी २०८२ पुष १० गतेदेखि सुरु हुने गरी तयारी थालिएको हो।
समितिबाट प्रप्त सूचना अनुसार प्रतियोगिता बर्दिवास नगरपालिकाका सबै वडाबाट एक–एक टिमको सहभागितामा सञ्चालन गरिनेछ। प्रतियोगितामा सहभागी हुन इच्छुक टिमहरूले सूचना प्रकाशित भएको मितिले १० दिनभित्र आवश्यक कागजातसहित नगर खेलकुद विकास समिति कार्यालय वा बर्दिवास नगरपालिका शिक्षा, युवा तथा खेलकुद शाखामा पुगेर टिम दर्ता गराउनुपर्नेछ।
प्रतियोगिता T–20 फर्म्याटमा सञ्चालन गरिनेछ भने खेलमा ड्युज बल प्रयोग गरिने जनाइएको छ। सम्पूर्ण खेलहरू ICC का नियमअनुसार सञ्चालन हुने नगर खेलकुद विकास समितिले जनाएको छ। खेल तालिका र समय समितिले तोकेको कार्यक्रम अनुसार लागू हुने पनि सूचनामा उल्लेख छ।
वडा प्रमाणपत्र अनिवार्य

प्रतियोगितामा सहभागी टिम तथा खेलाडीहरूले वडा प्रमाणपत्र अनिवार्य रूपमा पेश गर्नुपर्नेछ। टिम दर्ता गर्दा सबै खेलाडीहरू सोही वडाका स्थायी बासिन्दा हुनुपर्ने, वडा कार्यालयको सिफारिस पत्र र नागरिकताको फोटोकपी संलग्न गर्नुपर्ने नियम तोकिएको छ। नागरिकता नभएका खेलाडीको हकमा सोही वडाको बासिन्दा भएको प्रमाण खुल्ने कागजात अनिवार्य रूपमा बुझाउनुपर्नेछ।
नगर खेलकुद विकास समितिले निर्धारित समयभित्र दर्ता नगरेका टिमलाई प्रतियोगितामा सहभागी गराइने छैन भनी स्पष्ट गरेको छ।
प्रतियोगितासम्बन्धी थप जानकारीका लागि ईमेश साह (अमिन) सँग सम्पर्क गर्न सकिने नगरपालिकाको शिक्षा युवा तथा खेलकुद शाखाको सूचनामा उल्लेख गरिएको छ।





































