आज्ञा खबर
बर्दिवास
महोत्तरी क्षेत्र नम्बर ४ मा एमाले महाधिवेशन प्रतिनिधि छनोट प्रक्रिया विवादमा तानिएको छ। मधेस प्रदेशका मुख्यमन्त्री सरोज यादवले आफ्नै प्रभाव र मनोमानीका आधारमा निर्वाचन गराएको भन्दै इतर पक्षका एमाले नेताहरूले कडा आपत्ति जनाएका छन्।
मुख्यमन्त्री यादवको गृह क्षेत्रसमेत रहेको महोत्तरी–४ मा उनले तयार पारेको ‘डिजाइन’ अनुसार मतदान गराएर सबै १९ जना प्रतिनिधि आफ्नो पक्षका व्यक्तिलाई विजयी घोषणा गरेको आरोप लगाइएको छ।
‘यहाँ विचित्र तरिकाले निर्वाचन गरियो,’ असन्तुष्ट एक नेता भन्छन्, ‘दुई प्यानल बनाएर मतदान गराउने निर्णय भएपछि त्यहीअनुसार मतपत्र तयार गर्ने भनिएको थियो। तर मुख्यमन्त्रीले सिधै हस्तक्षेप गरेर दायाँपट्टिका सबै उम्मेदवारलाई विजयी घोषणा गरिदिए।’
मतपत्र डिजाइनमै अनियमितता भएको आरोप
अनेरास्ववियुवाका पूर्व केन्द्रीय सचिव तथा हाल एमाले प्रदेश कमिटी सदस्य सरोज यादवका अनुसार जित्ने भनिएको प्यानलले ३,४१४ मत पाएको घोषणा गरिएको छ भने अर्को प्यानलले मात्र ९४ मत पाएको देखाइएको छ।
यसरी ‘प्यानल अनुसार’ मतपत्र नै डिजाइन गर्नु नै अनैतिक भएको भन्दै उनले सामाजिक सञ्जालमार्फत कडा असन्तुष्टि पोखेका छन्।
‘मतपत्र उम्मेदवारी दर्ता वा वर्णानुक्रम अनुसार हुनुपर्ने हो। प्यानल बनाएर प्रचार गर्नु स्वीकार्य हो, तर मतपत्र नै प्यानल मिलाएर बनाउनु बेइमानी हो,’ उनले लेखेका छन्।
फर्जी सदस्यता बढाएर मतदाता बनाइएको दाबी
महोत्तरी–४ मा १४,६३७ जना एमाले सदस्य छन् भनी घोषित गरिएको भए पनि यो संख्या ‘फर्जी’ भएको आरोप पनि उनले लगाए।
‘जनता आवास कार्यक्रमका लागि संकलन गरिएको नागरिकता विवरणलाई समेत सूचीकृत गरेर पार्टी सदस्य बनाइएको छ,’ यादवले दाबी गरे, ‘पार्टी कब्जा गर्ने उद्देश्यले फर्जी सूची तयार गरिएको हो।’
मतदान अधिकृतकै आलोचना
मतदानमा देखिएको अनियमितताबारे उजुरी दिँदा पनि सुनुवाइ नभएको सरोज यादवको भनाइ छ।
‘मुख्यमन्त्रीले आफ्नो काका लाईनै मतदान अधिकृत तोक्नुभयो। हामीले निस्पक्षता छैन भन्यौँ तर कुनै पनि उजुरी नलिई दायाँतर्फका सबै उम्मेदवारलाई जितेको घोषणा गरियो,’ उनले भने।
महोत्तरी–१ र २ मा मत गणना जारी
महोत्तरी–४ मा विवादकाबीच प्रतिनिधि चयनको घोषणा भइसके पनि क्षेत्र नम्बर १ र २ मा भनेहाल मतगणना सुरु भएको मधेस प्रदेशकी सांसद शारदा थापाले जानकारी दिइन्।
