आज्ञा खबर
बर्दिवास
महोत्तरीको बर्दिवास नगरपालिका–८ स्थित हातीलेट–खजुरिया क्षेत्रका बासिन्दाले वर्षौंदेखि वर्षात लागेपछि भोग्दै आएको कठिनाइ अबअन्त्य हुने संकेत देखिएको छ। स्थानीयको दैनिक आवत–जावतदेखि कृषि उपज बजारसम्म पु¥याउन कठिनाइ झेल्दै आएका भब्सी खोलामा अब स्थायी पुल निर्माण कार्य सुरु भएको छ। पुल निर्माको कार्यलाई बर्दिवास नगरपालिकाले प्राथमिकताको विषय बनाउँदै शुक्रवार निर्माण कार्यको विधिवत् शुभारम्भ (सिल्यान्यास) गरीएको हो।
बर्दिवास नगरप्रमुख प्रह्लाद कुमार क्षेत्री र उप–प्रमुख तारादेबी महतोले संयुक्त रूपमा पुल निर्माणको शिलान्यास गरेका हुँन । नगरप्रमुख क्षेत्रीले शिलान्यास कार्यक्रममा भने,
‘नागरिकलाई सीधै असर गर्ने पूर्वाधार निर्माणलाई हामीले प्राथमिकतामा राखेका छौं। भब्सी खोलाको पुलले गाउँलाई मात्र होइन, स्थानीय अर्थतन्त्रलाई पनि जोड्नेछ।’
नगरप्रमुख र उप–प्रमुख ले शिलान्यास गरेसँगै हातीलेट–खजुरिया क्षेत्रका बासिन्दामा उत्साह छाएको छ। ‘अब यसैबर्षको दशैताकाको वर्षातमै यो खोलो तर्न कति जोखिम थियो, हामी आफूले भोगेकै हौं,’ स्थानीय जिबन लामा भन्छन्, ‘अब बल्ल पुल बन्ने कामको थालनी हुदा हामीले बोकेका तरकारी र फलफूल सजिलै बजार लैजान सकिन्छ भन्ने आशा जागेको छ।’
९६ लाख ६० हजार ५ सय ८३ रुपैयाँमा निर्माण, चैत मसान्तसम्म सम्पन्न गर्ने लक्ष्य
नगरपालिकाको लगानीमा बन्ने पुल निर्माण कार्य कालागी ए.बि. एण्ड एस.एस. कन्स्ट्रक्सन प्रालि, कमलामाई नगरपालिका–सिन्धुलीसँग ठेक्का सम्झौता भएको छ। म्याट तथा अन्य कर कटाएर ठेक्का रकम रु. ९६ लाख ६० हजार ५ सय ८३ रुपैयाँ निर्धारण गरिएको छ। निर्माण कम्पनीले यसै चैत मसान्तसम्म पुल निर्माण कार्य पूरा गर्ने सम्भौतामा उल्लेख गरीएको छ।
२० मिटर लम्बाइ, ६ मिटर चौडाइ—स्थानीय यातायात सहज
भब्सी खोलामा बन्न थालेको पुल २० मिटर लम्बाइ र ६ मिटर चौडाइको हुनेछ। भौगोलिक रूपमा हातीलेट–खजुरिया क्षेत्रमा खोलाले विभाजन गरिदिएको ले वर्षातमा विद्यालय जाने विद्यार्थी, रोगी–विमारी, कृषक तथा सर्वसाधारणलाई गम्भीर समस्या पर्ने गर्थ्यो। खोलामा पुल नहुँदा जोखिमपूर्ण किसिमले खोला पार गरेर दैनिक यात्रा गर्नु पर्ने बाध्यता अब अन्त्य हुने स्थानीयको अपेक्षा छ।
‘हामीलाई वर्षामा बजारर्पुग्न मुश्किल छ, एम्बुलेन्स समेत आउन सक्दैन,’ स्थानीय महिला सावित्री देवी भन्छिन्, ‘पुल बनेपछि यात्रा मात्रै होइन, सुरक्षा र अवसर दुबै बढ्छन्।’
स्थानीय उत्पादन बजारसम्म पुग्ने मार्ग खुलेको अनुभूति
खजुरिया क्षेत्र कृषिजन्य उत्पादनका लागि चिनिन्छ। यहाँका स्थानीयले उब्जाउने तरकारी, फलफूल, अनाज तथा अन्य उत्पादन वर्षातको समयमा खोलाको कारण बजारसम्म लैजान समस्या आइरहन्थ्यो।
पुल निर्माणसँगै अब उत्पादन सिधै बर्दिवास बजार, सिन्धुली र अन्य व्यापारिक केन्द्रसम्म सहज नै पु¥याउन सकिने देखिएको छ। किसान मनोज यादव भन्छन्,
‘उत्पादन बोक्ने मानिसभन्दा जोखिम बोकेर खोलो तर्नुपर्थ्यो। पुल बनेपछि समय, श्रम र जोखिम तीनै बचत हुन्छ।’
विकासको आधार–स्थानीयलाई जोड्ने ‘जीवनरेखा’
यो पुल केवल यातायात सहज हुने संरचना मात्र होइन, हातीलेट–खजुरिया क्षेत्रका स्थानीयका लागि सामाजिक, आर्थिक र शैक्षिक पहुँच विस्तार गर्ने ‘जीवनरेखा’ जस्तै मानिएको छ। विद्यालय, बजार, स्वास्थ्य सेवा, कृषि व्यवसाय र सामाजिक आवत–जावतका लागि यो पुलले नयाँ अध्याय सुरु गर्ने विश्वास गरिएको छ।
भब्सी खोलामा सुरु भएको पुल निर्माण हातीलेट–खजुरिया क्षेत्रको दीर्घकालीन विकासका लागि महत्वपूर्ण संकेत हो। स्थानीयको दैनिकी सहज हुनुनै यसको मुख्य उपलब्धि हुने छ भने कृषि उत्पादनको पहुँच विस्तारले आर्थिक उन्नतिमा सहयोग पुर्याउनेछ। निर्माण तोकिएकै समयभित्र सम्पन्न भएमा यस क्षेत्रका बासिन्दाले वर्षौँदेखि पर्खेको सुविधा अब उनको दैनिक जीवनमा प्रत्यक्ष अनुभूत हुनेछ।






