आज्ञा खबर
रौतहट
रौतहटको कटहरिया नगरपालिकामा कार्यरत करार तथा ज्यालादारी कर्मचारीहरू फेरि आन्दोलनमा उत्रिएका छन्। लामो समयदेखि तलब र सेवा–सुविधा नपाएको भन्दै उनीहरूले बुधबारदेखि नगरपालिका र वडा नम्बर १ देखि ९ सम्मका सबै वडा कार्यालयहरूमा पुनः तालाबन्दी गरेका हुन्।
यसअघि पनि कर्मचारीहरूले यही मागसहित दीपावली र छठ पर्वअघि तालाबन्दी गरेका थिए। त्यसबेला नगरप्रमुख अजय प्रकाश जयसवालले छठ भित्रै सबै तलब भुक्तानी हुने आश्वासन दिएपछि आन्दोलन स्थगित गरिएको थियो। तर, छठ सकिएको दुई हप्ता नबित्दै पनि माग कार्यान्वयन नभएपछि उनीहरू पुनः सडक र कार्यालय बन्दको बाटोमा उत्रिएका हुन्।
कर्मचारीहरूको भनाइमा, नगरप्रमुख जयसवाल र प्रमुख प्रशासकीय अधिकृत गणेश नेपालीले पटक–पटक मौखिक तथा लिखित रूपमा आश्वासन दिए पनि व्यवहारिक कदम नचालिएको हो। “हामीलाई फेरि झुक्याउने प्रयास भइरहेको छ,” वडा नम्बर ८ का कर्मचारी मुकुन्द यादवले भने, “सबै वडाका कर्मचारीले सामूहिक रूपमा तालाबन्दी गरेका छौं र कार्यालयका चाबी आ–आफ्नो जिम्मामा राखेका छौं।”
त्यस्तै, वडा नम्बर १ का करार कर्मचारी मुकेश कुशवाहाले माग पूरा नभएसम्म आन्दोलन निरन्तर रहने चेतावनी दिए। उनका अनुसार, “हामीलाई महिनौँदेखि काम गराएर पनि तलब नदिने अवस्था बनाइएको छ, अब आश्वासनमा विश्वास गर्न सकिँदैन।”
नगरप्रमुख अजय प्रकाश जयसवालले केही दिनअघि सामाजिक सञ्जालमार्फत भिडियो सन्देश जारी गर्दै तिहारअघि नै करार कर्मचारीहरूको समस्या समाधान हुने बताएका थिए। उनका अनुसार, “कर्मचारीहरूले आवश्यक कागजात बुझाएपछि तलब वितरण प्रक्रिया अघि बढाइने” भनिएको थियो। तर, त्यो प्रक्रिया अझै अघि नबढ्दा असन्तोष थपिएको छ।
योजना शाखा प्रमुख रामनरेश यादवले प्रमुख प्रशासकीय अधिकृत गणेश नेपालीसँगको फोन संवादपछि आगामी तीन दिनभित्र सम्पूर्ण प्रक्रिया पूरा गरी तलब पठाइने बताएका छन्। तर आन्दोलनरत कर्मचारीहरू भने यस्ता वाचा र समयसीमाप्रति अब विश्वास गर्न गाह्रो भएको बताउँछन्।
कर्मचारीहरूले आन्दोलन जारी राख्दै नगर प्रशासनलाई चेतावनी दिएका छन् — “आश्वासनको खेल अब बन्द होस्, हाम्रा श्रमको मूल्य तुरुन्त दिइयोस्।”
