छठपर्वको अवसरमा मधेस प्रदेशमा कात्तिक ११ गते थप सार्वजनिक बिदा

[sharethis-inline-buttons]

आज्ञा खबर
बर्दिवास
छठपर्वको अन्तिम दिन उदाउँदो सूर्यलाई अघ्र्य दिएर पर्व समापन गरिने भएकाले मधेस प्रदेश सरकारले कात्तिक ११ गते (मङ्गलबार) का लागि थप सार्वजनिक बिदा घोषणा गरेको छ।

प्रदेश सरकारको गृह, सञ्चार तथा कानुन मन्त्रालयले शुक्रबार सूचना जारी गर्दै उक्त दिन प्रदेशभर सरकारी कार्यालय, शिक्षण संस्था तथा सार्वजनिक निकायहरू बन्द रहने जानकारी दिएको हो।

मन्त्रालयका उपसचिव गणेश नायकद्वारा जारी सूचनामा भनिएको छ, “छठपर्वको अन्तिम दिन बिहान उदाउँदो सूर्यलाई अघ्र्य दिने धार्मिक परम्परा रहेकाले भक्तजनहरूको सहजताका लागि कात्तिक ११ गते प्रदेशभर सार्वजनिक बिदा दिने निर्णय गरिएको छ।”

यसअघि सङ्घीय सरकारले छठको तेस्रो दिन अर्थात् अस्ताउँदो सूर्यलाई अघ्र्य दिने अवसरमा कात्तिक १० गते (सोमबार) मुलुकभर सार्वजनिक बिदा दिएको थियो।

मधेस प्रदेश सरकारले यसअघि नै प्रदेश राजपत्र (वि.सं. २०८१ चैत २२ गते प्रकाशित) मार्फत छठपर्वमा आवश्यक परे थप बिदा दिन सकिने व्यवस्था गरेको थियो। सोही प्रावधानअनुसार यस वर्ष एक दिनको अतिरिक्त बिदा घोषणा गरिएको मन्त्रालयले स्पष्ट पारेको छ।

  • लोड हुँदैछ...
  • Loading...
  • लोड हुँदैछ...