आज्ञा खबर
बर्दिवास
महोत्तरीको बर्दिबास नगरपालिकाका मेयर प्रह्लाद कुमार क्षेत्रीको दृष्टि स्पष्ट छ— “बर्दिबासलाई सुन्दर, स्वच्छ, हरित, सुरक्षित, आधुनिक र आत्मनिर्भर नगरको रूपमा विकास गर्ने।” यो लक्ष्य केवल नारामात्र होइन, नगरको समग्र परिवर्तनको नक्सा हो जसले शिक्षा, स्वास्थ्य, रोजगारी, पूर्वाधार, वातावरण र सुशासनका क्षेत्रमा दीर्घकालीन सुधार ल्याउने दिशामा ठोस कार्ययोजना बोकेको छ।
भिजनको केन्द्रमा जनता र उनीहरूको सहभागिता
मेयर क्षेत्रीले चालेको बर्दिबासको विकासमा सबैभन्दा महत्वपूर्ण कुरा नागरिकको सक्रिय सहभागिता हो। उनी भन्छन्, “नगरको विकास तब मात्रै सम्भव हुन्छ जब जनता आफैं परिवर्तनको साझेदार बन्छन्।”
यस दृष्टिले नगरपालिकाले पछिल्लो समय वडास्तरदेखि नै जनसुन्ने कार्यक्रम, सुझाव सङ्कलन र योजना प्राथमिकता निर्धारणमा नागरिकको सहभागिता सुनिश्चित गर्दै आएको छ।
सुन्दर र स्वच्छ बर्दिबासको परिकल्पना
नगरको सुन्दरतासँगै सफाइ र सौन्दर्यीकरणमा मेयर क्षेत्रीको विशेष जोड छ। बर्दिबास प्रवेशद्वारदेखि मुख्य बजारसम्मका सडकहरूको किनारमा वृक्षारोपण र सरसफाइ अभियान थालिएको छ। प्लास्टिक प्रयोग घटाउने कार्य योजना बन्ने क्रममा छ। सार्वजनिक शौचालयको रुपमा घुम्ती शैचालयको उपयोग र फोहर व्यवस्थापन प्रणाली सुदृढीकरण पनि यो भिजनको हिस्सा हुन्।
नगरलाई ‘स्वच्छ बर्दिबास बनाउने कार्यक्रमअन्तर्गत विद्यार्थी र स्थानीय सामाजिक संस्थाहरूलाई सरसफाइ दूतका रूपमा परिचालन गरिएको छ। यसले बिस्तारै जनस्तरमा सफाइप्रतिको चेतना बढाउँदै लगेको छ।
हरित र वातावरणमैत्री दृष्टिकोण
‘हरित बर्दिबास’ निर्माणका लागि नगरपालिकाले वृक्षारोपण, जलस्रोत संरक्षण र हरियाली विस्तारलाई प्राथमिकतामा राखेको छ। विश्व वातावरण दिवसका अवसरमा नगरभर वृक्षारोपण अभियान, विद्यालयस्तरमा हरित शिक्षा र नगरको खाली तथा नदी उकास जग्गामा बृक्षा रोपन अभियानले नगरलाई हरियालीतर्फ अघि बढाएको छ।
सौर्य ऊर्जाको प्रयोग, वर्षाको पानी सङ्कलन प्रणाली र नदीकिनारको संरक्षण कार्य पनि मेयर क्षेत्रीको हरित भिजनका महत्त्वपूर्ण हिस्सा हुन्।
शिक्षा र स्वास्थ्यमा गुणस्तरीय सुधार
क्षेत्रीको नेतृत्वमा शिक्षा क्षेत्रमा गुणस्तर वृद्धि र सार्वजनिक विद्यालयको सुधार मुख्य लक्ष्यका रूपमा अघि बढाइएको छ। विद्यालयमा डिजिटल शिक्षा, पुस्तकालय विस्तार, र छात्रवृत्ति योजनाले विद्यार्थीमा अध्ययनप्रतिको रुचि बढाएको छ।
स्वास्थ्य क्षेत्रमा नगर अस्पतालको सेवा विस्तार, मातृ स्वास्थ्य सुधार कार्यक्रम, र निःशुल्क स्वास्थ्य शिविर सञ्चालनजस्ता कामहरूले नागरिक जीवनमा प्रत्यक्ष प्रभाव पारिरहेका छन्।
रोजगारी र आत्मनिर्भरता
“आत्मनिर्भर बर्दिबास” क्षेत्रीको भिजनको मुख्य स्तम्भ हो। त्यसका लागि नगरपालिकाले सिपमूलक तालिम, उद्यम प्रोत्साहन र सहकारी प्रवर्द्धन कार्यक्रम सञ्चालन गर्दै आएको छ।
महिला र युवालाई लक्षित गरी गरिएको साना उद्यम विकास तालिम, पशुपालन तथा कृषि व्यवसायमा सहुलियत नीति र स्थानीय उत्पादन बजार विस्तारजस्ता कार्यले रोजगारी सिर्जनामा सहयोग पु¥याइरहेका छन्।
सुरक्षित र आधुनिक पूर्वाधारको विकास
नगरका सडक, पुल, नाला, बिजुली बत्ती, सार्वजनिक पार्क र बजार व्यवस्थापनमा आधुनिकता र सुरक्षालाई जोड दिइएको छ। रात्रीकालीन प्रकाश, सिसिटिभी क्यामेरा, ट्राफिक व्यवस्थापन, र आपतकालीन उद्धार संयन्त्र सुदृढ बनाउने काम नगरको प्राथमिकतामा रहेको छ।
सुशासन र पारदर्शितातर्फ अग्रसरता
नगर प्रमुख क्षेत्रीले सुशासनलाई विकासको मेरुदण्ड मानेका छन्। त्यसैले बजेट कार्यान्वयनदेखि योजना छनोटसम्ममा खुलापन र पारदर्शिता कायम गर्न उनले निरन्तर जोड दिएका छन्।
सूचनाको हक, नागरिक बडापत्र, र नियमित सुचना मार्फत नगरवासीलाई जानकारी र जवाफदेही शासन प्रणालीको अभ्यास गराइएको छ।
जनताको गर्वको शहरतर्फ यात्रा
‘जनताको विश्वास, सहभागिता र बर्दिवासलाई गर्वको शहर’ बनाउने मेयर क्षेत्रीको अभिव्यक्ति केवल भाषणमा सीमित छैन। विकासका प्रत्येक काममा स्थानीयको सल्लाह, सहभागिता र योगदान खोज्ने उनको शैलीले नगर र नागरिकबीचको सम्बन्ध अझ सुदृढ भएको छ।
नगरवासी बिजय यादव भन्छन्, “हामीले पहिलोपटक महसुस गरिरहेका छौं कि नगरले हामीलाई सुन्दैछ, हाम्रो आवाजलाई योजना र कार्यमा परिणत गर्दैछ।”
बर्दिबास नगरपालिका अहिले संक्रमणकालीन विकासबाट स्थायी रूपान्तरणको दिशामा अघि बढिरहेको छ। मेयर प्रह्लाद कुमार क्षेत्रीको ‘सुन्दर, स्वच्छ, हरित, सुरक्षित, आधुनिक र आत्मनिर्भर बर्दिबास’ को भिजन केवल सपना होइन— त्यो शहरको भविष्यको रुपरेखा हो।
यदि यही प्रतिबद्धता, सहभागिता र पारदर्शिता निरन्तर रह्यो भने बर्दिबास केवल एक नगरपालिका होइन, ‘जनताको गर्वको शहर’का रूपमा स्थापित हुनेछ।





































