आज्ञा खबर
बर्दिबास
मधेसको प्राचीन मिथिला क्षेत्रका आमाहरूले सन्तानको दीर्घायु, सौर्यवृद्धि र कल्याणको कामना गर्दै शनिबारदेखि जितिया व्रत सुरु गरेका छन्।
बर्दिबास–२ की व्रतालु नगिनादेवी महतोका अनुसार शनिबार मध्यरातअघि पवित्र जलाशयमा स्नान गरी व्रत सङ्कल्प गरिएको र ‘ओगटन’ (दर) खाएसँगै निराहार उपवास आरम्भ भएको हो। यद्यपि अष्टमी तिथि आइतबार बिहान ८ः४४ बजेदेखि मात्र लागे पनि परम्पराअनुसार मध्यरातपछि नै व्रत सुरु गर्ने चलन रहेको उनले बताइन्।
मिथिला पञ्चाङ्ग र विद्यापति पञ्चाङ्गअनुसार यो व्रत भोलि सोमबार बिहान ७ बजेपछि समापन गर्ने विधान छ। कर्मकाण्ड विज्ञ पण्डित दिनेशकुमार झाले बताएअनुसार नवमी तिथि एक घडी बितेपछि मात्र व्रत तोड्ने परम्परा रहिआएको छ।
पितृपक्षसँगै जोडिएको यस व्रतमा सप्तमीका दिन व्रतालुले पवित्र स्नान गरी पितृ स्मरणसहित चोखोनीतो खाने र सूर्यदेवलाई तोरीको तेल, पिना र आँपको अचार अर्पण गर्ने प्रचलन छ। साथै दिवङ्गत सासू, ज्यामै सासू, जेठानी–देवरानी र मातृकूललाई सम्झँदै तीन पुस्ताभित्रका महिलालाई तर्पण दिने विधि पनि यो पर्वसँग जोडिएको छ।
जितियाको मूल दिन अष्टमीमा व्रतालुहरूले राजा जिमुतवाहनको कथा सुन्ने गर्छन्। द्वापर युगमा नर्मदा नदी तटीय क्षेत्रमा एक विधवा ब्राह्मणीका सात भाइ मृतक छोराहरूलाई जिमुतवाहनले असोज कृष्ण अष्टमीकै दिन पुनर्जीवन दिएको जनविश्वासले यस व्रतको उत्पत्ति भएको मानिन्छ।
मिथिला क्षेत्रका महिलाहरूले सन्तानप्रति मातृस्नेह, आत्मबल र धार्मिक आस्थाको अद्वितीय उदाहरणका रूपमा जितियालाई आज पनि निरन्तर जोगाउँदै आइरहेका छन्।





































