आज्ञाखबर
वर्दिबास
इस्लाम धर्मका प्रवर्तक पैगम्बर हजरत मोहम्मदको जन्मोत्सव अर्थात् ‘मोहम्मद डे’ आज वर्दिवास सहित विश्वभर धार्मिक श्रद्धा, उत्साह र सद्भावका साथ मनाइएको छ ।
नेपाल सरकारले मुस्लिम समुदायका लागि विशेष सार्वजनिक बिदा दिएको छ भने मधेश प्रदेश सरकारले पनि सम्पूर्ण प्रदेशमा बिदा घोषणा गर्दै पर्वको महत्वलाई मान्यता दिएको छ ।
वर्दिबासका मुस्लिम समुदायले आजको दिन वर्दिवास वजार परिक्रमा गरी एक आपसमा शुभकामना आदान प्रदान गरी मनाएका छन् । साथै सामूहिक कुरान पाठ, मस्जिदमा विशेष प्रार्थना तथा सामूहिक भोजनका कार्यक्रमहरू आयोजना गरेका छन् । वर्दिबास नगरपालिकाका नगर प्रमुख प्रहलाद कुमार क्षेत्रीले वर्दिवास मुस्लीम समाजले आयोजना गरेको मोहम्मद डेको अवसरमा वर्दिवासमा सवै धर्म सम्प्रदायले शान्ति, सहिष्णुता र भाइचारा प्रवद्र्धन गर्ने सन्देश दिइएको वताए । नगर प्रमुखले मोहम्मदको जीवन दर्शनबाट त्याग, मानवता र भाइचाराको पाठ सिक्न आग्रह गर्दै आजको समाजमा यसका सन्देश अझ सान्दर्भिक रहेको बताए । नेपालको बहुल धार्मिक, सांस्कृतिक र जातीय समाजमा यस पर्वको सामाजिक महत्व झनै प्रकट भएको छ । ‘मोहम्मद डे’ सामाजिक सद्भाव, पारस्परिक सम्मान र राष्ट्रिय एकताको प्रतीकको रूपमा मनाइँदै आएको पर्व भएको आयोजक कमिटिका वकिल नदाफले वताए ।
