आज्ञा खबर
बर्दिवास
महोत्तरीको बर्दिवास नगरपालिका–वडा नम्बर १, २, १४ र ३ गौरीडाँडामा अब उपभोक्ताले सस्तोमा खानेपानी पाउने भएका छन्।
बर्दिवास साना शहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाले हालसम्म १० हजार लिटर पानी प्रयोग गरेबापत तिर्नुपर्ने शुल्क ८० रुपैयाँलाई घटाएर ५० रुपैयाँ मात्र लिने निर्णय गरेको छ।
आसोजदेखि लागू हुने नयाँ शुल्क
संस्थाका व्यवस्थापक भवनाथ खतिवडाका अनुसार नयाँ महसुल व्यवस्था २०८२ सालको असोज महिनादेखि लागू हुने छ।
“उपभोक्ताले वर्षौँदेखि माग गर्दै आएका सहज मूल्यमा पानी उपलब्ध गराउने हाम्रो प्रयास सफल भएको छ,“ खतिवडाले भने, “यो निर्णयले जनजीवनमा प्रत्यक्ष राहत दिनेछ।“
उपभोक्ताको आवाज सुन्ने संस्था
खानेपानी दैनिकीको आधारभूत आवश्यकता हो। तर खर्चिलो महसुलका कारण धेरैजसो बिपन्न नगरीकलाई समस्या भएको थियो।
संस्थाले गत केही महिनादेखि उपभोक्ताको गुनासो संकलन गर्दै आएको थियो। अन्ततः, संस्थाको सञ्चालक समितिले आर्थिक व्यवस्थापनसहित महसुल घटाउने निर्णय गरेको हो।
जनजीवनमा सकारात्मक असर
बर्दिवास खनेपानीका अधिकांश उपभोक्ता कृषिमा आधारित छन्। खेतीपातीसँगै उनीहरूको आयस्तर सामान्य छ।
शुल्क घटेपछि उनीहरूले दैनिक खर्चमा केही सहजता महसुस गर्ने अपेक्षा गरिएको छ।
बर्दिवास ३ का स्थानीयवासी मदन राउत भन्छन्,
“अहिले सम्म महिनामा पानीको बिल तिर्दा ठूलो बोझ जस्तै लाग्थ्यो। अब शुल्क घट्दा मेरो परिवार र समुदायलाई समेत राहत पुग्ने भयो।“
सामाजिक न्याय र पहुँचको सवाल
सस्तो मूल्यमा खानेपानी उपलब्ध गराउनु केवल आर्थिक राहत मात्र होइन, सामाजिक न्यायसँग पनि जोडिएको विषय हो।
खानेपानी सबैको आधारभूत आवश्यकता भित्रको अधिकार भएकाले यसलाई सहज मूल्यमा सबैलाई उपलब्ध गराउनुपर्ने आम उपभोक्ता तथा सरोकारवालाहरू बताउँछन्।
संस्थाको आगामी योजना
संस्थाले अब वितरण प्रणाली अझ व्यवस्थित बनाउन, पुराना पाइपलाइन परिवर्तन गर्न र सरसफाइतर्फ जनचेतना अभिवृद्धि गर्ने योजना अघि सारेको छ।
“हामी महसुल मात्रै घटाएर थाति बस्दैनौं, पानीको गुणस्तर र निरन्तर आपूर्ति दुवैमा सुधार गर्ने हाम्रो प्राथमिकता छ,“संस्थाका अध्यक्ष भुलन बहादुर शेनले भने ।
यसैगरी पानी सस्तो हुँदा उपभोक्तामा खुशीको लहर आएको छ। यो निर्णयले खानेपानी मात्र नभई स्थानीय जीवनस्तरमै सुधार ल्याउने अपेक्षा गरिएको छ।
साबिकको बर्दिवास गा.बि.स र गौरीवास गा.बि.स १ र २ का बासिन्दाले अब सस्तो, सुरक्षित र नियमित पानी पाउने विश्वास राखेका छन्।

