बर्दिवासका नगरप्रमुख क्षेत्रीद्वारा तीज, गणेश चतुर्थी र ऋषि पञ्चमीको अवसरमा शुभकामना ब्यक्त

[sharethis-inline-buttons]

आज्ञा खबर
बर्दिवास

आज भाद्र शुक्ल तृतीयाको दिन देशभर श्रद्धा–भक्तिपूर्वक हरितालिका तीज पर्व मनाइँदैछ। विशेषगरी हिन्दु नारीहरूले व्रत बसेर भगवान् शिव र पार्वतीको पूजा–अर्चना गर्ने यो पर्वलाई सौभाग्य, समृद्धि र पारिवारिक सुख–शान्तिका लागि मनाउने परम्परा रहिआएको छ।

यस अवसरमा बर्दिवास नगरपालिकाका नगरप्रमुख प्रह्लाद कुमार क्षेत्रीले सम्पूर्ण नगरवासी हिन्दु नारीहरूलाई तीज, गणेश चतुर्थी (चउरचन) तथा ऋषि पञ्चमी पर्वको हार्दिक शुभकामना व्यक्त गरेका छन्। उनले भने,
“तीज पर्वले नारीहरूको श्रद्धा, विश्वास र सामाजिक एकतालाई अझ सबल बनाउने कार्य गर्दछ। यसले नगरभित्र धार्मिक सद्भाव, आपसी समझदारी र सांस्कृतिक विविधतालाई सशक्त बनाउन मद्दत पु¥याएको छ। गणेश चतुर्थि (चउरचन) र ऋषि पञ्चमी जस्ता धार्मिक पर्वहरूले समेत हाम्रो सामाजिक आस्था, परम्परा र पवित्र संस्कृतिलाई जोगाउन योगदान पु¥याएका छन्। यी पर्वहरूले नगरभित्र बसोवास गर्ने सबैमा सुख, शान्ति, समृद्धि र आपसी सद्भावना फैलाओस् भन्ने मेरो हार्दिक शुभकामना छ।”

आज बिहानैदेखि देशभरका शिवालय तथा मन्दिरहरूमा महिलाहरूको विशेष भीड देखिएको छ। महोत्तरीको बर्दिवास–५ मा अवस्थित टुटेश्वरनाथ महादेव मन्दिरमा बिहानैदेखि भक्तजनहरूको ठूलो भीड लागेको छ भने तराईदेखि पहाडसम्मका शिवालयमा श्रद्धालुहरूको उल्लेख्य उपस्थिती छ।

यस दिन महिलाहरूले उपवास बसेर दिनभर शिव–पार्वतीको मूर्तिमा जल, दूध, बेलपत्र चढाउने गर्छन् भने रातभर भक्ति गीत, भजन–कीर्तनमा सहभागी हुने परम्परा छ। विवाहित महिलाहरूले पतिको दीर्घायु र परिवारको सुख–समृद्धिका लागि यो पर्व मनाउँछन् भने अविवाहित युवतीहरूले मनपर्ने वर पाउन शिव–पार्वतीको पूजा गर्ने चलन रहिआएको छ।

तीजसँगै नारीहरूबीच आपसी भेटघाट, गीत–नृत्य र सांस्कृतिक कार्यक्रमको पनि विशेष महत्त्व रहेको छ। यसै अवसरमा महिलासँग आवद्ध विभिन्न संघ–संस्थाहरूले बर्दिवास–१ स्थित मुख्य चोक र बर्दिवास–३ को खुला मञ्चमा विशेष सांस्कृतिक कार्यक्रमको आयोजना गरेका छन्। यसलाई महिलाको सामाजिक सम्बन्ध, सांस्कृतिक एकता र धार्मिक आस्थालाई मजबुत बनाउने अवसरका रूपमा लिइएको छ।

  • लोड हुँदैछ...
  • Loading...
  • लोड हुँदैछ...