आज्ञा खबर
बर्दिवास
नेपाल कम्युनिष्ट पार्टी (एमाले) का महासचिव शङ्कर पोखरेलले दुई छिमेकी मुलुक भारत र चीनले नेपाललाई बेवास्ता गर्दै लिम्पियाधुरा नाका व्यापारिक प्रयोजनमा खोल्ने सहमति गरेको भन्दै असन्तोष व्यक्त गरेका छन्।
प्रेस चौतारी नेपाल, महोत्तरीले बिहिवार महोत्तरीको बर्दिवासमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै महासचिव पोखरेलले नेपालको भू–सीमा सन् १८१६ को सुगौली सन्धिअनुरुप तय भएको स्मरण गर्दै भने, “महाकालीे भूभागसहितको नक्सा तथ्य र प्रमाणका आधारमा हामीले बनाएका हौँ, यसलाई कसैले अस्वीकार गर्न सक्दैन।”
उनले नेपालबिना गरिएको पछिल्लो भारत–चीन सहमतिले संवेदनशील विषयलाई बेवास्ता गरेको आरोप लगाए। तर सो कारणले चीन र भारतमा हुन लागेको तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको सद्भावना भ्रमणमा कुनै असर नपर्ने स्पष्ट गरे। “समस्या समाधान संवादमै हुन्छ, त्यसका लागि भ्रमण नै अवसर हो,” पोखरेलले भने।
नेपाल सरकारको तर्फबाट यसअघि नै परराष्ट्र मन्त्रालयले दुवै देशलाई असहमति जनाउँदै कूटनीतिक नोट पठाइसकेको र अब तार्किक निष्कर्ष दिनुपर्ने जिम्मेवारी भारत–चीनकै भएको उनको भनाइ थियो।
एमालेको मूल ध्येय“आगामी विधान महाधिवेशनको तयारीमा व्यस्त रहेको उल्लेख गर्दै महासचिव पोखरेलले पार्टीलाई नीति, विधि र सशक्त संगठनको आधारमा बलियो राष्ट्रिय शक्ति बनाउन महाधिवेशनले मार्गदर्शन गर्ने बताए। “एमालेले मात्रै मुलुकलाई अघि बढाउन सक्छ भन्ने जनतामा बनेको विश्वासलाई अब बहुमतको सरकार बनाएर प्रमाणित गर्नेछौं,” उनले भने।
उनले हालको सरकार गठनपछि आर्थिक सुधारका सकारात्मक संकेत देखिएको दाबी गर्दै पछिल्लो एक वर्षमा राजस्व वृद्धि, निर्यात वृद्धि र पुँजीगत खर्चमा सुधार भएको उल्लेख गरे। “अब संघीयता कार्यान्वयनका लागि बाँकी कानुन बनाउन सरकार केन्द्रित हुनुपर्छ,” पोखरेलले जोड दिए।
पत्रकारको जिज्ञासामा महासचिव पोखरेलले संविधान संशोधनका लागि एमाले र कांग्रेसबीच भएको सहमति यथावत् रहेको स्पष्ट पारे। राष्ट्रियसभामा सत्ता साझेदार दलको उपस्थिति अहिले कमजोर भए पनि आउँदो निर्वाचनपछि बलियो उपस्थिति बनाइने र त्यसपछि संविधान संशोधनको प्रक्रियामा जाने उनको भनाइ थियो।
महासचिव पोखरेल मधेस प्रदेशका अगुवा कार्यकर्तासँग विधान महाधिवेशनमा प्रस्तुत हुने राजनीतिक, संगठनात्मक र विधान संशोधन प्रस्तावबारे छलफलमा सहभागी हुन बर्दिवास आएका हुन्। पत्रकार सम्मेलनमा नेकपा (एमाले) का सचिव रघुवीर महासेठ, स्थायी कमिटी सदस्य लिलानाथ श्रेष्ठ, पोलिटब्युरो सदस्य सुमनराज प्याकुरेल, मधेस प्रदेश अध्यक्ष चन्द्रेश्वर मण्डललगायत उपस्थित थिए।
