जलेश्वर प्रादेशिक अस्पतालमा लापरबाही ः चार स्वास्थ्यकर्मी स्पष्टीकरणमा

[sharethis-inline-buttons]

आज्ञा खबर
बर्दिवास
महोत्तरीको जलेश्वरस्थित प्रादेशिक अस्पतालमा सेवा प्रवाहमा गम्भीर लापरबाही भएको उजुरीपछि मधेस प्रदेश सरकारले चार स्वास्थ्यकर्मीलाई तीन दिनभित्र लिखित जवाफ पेस गर्न निर्देशन दिएको छ।

प्रदेश स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मेडिकल अधिकृत डा. शिखा अधिकारी, डा. सद्रे आलम र स्टाफ नर्स मन्दिका कुमारी यादव तथा रन्जिता साहलाई स्पष्टीकरण पत्र पठाएको हो।

अस्पतालमा उपचार पाउन नसकेर बिरामी अकालमा ज्यान गुमाउनु परेको भन्दै विभिन्न संघसंस्थाका प्रतिनिधिहरूले मंगलबार मुख्यमन्त्री सतिश कुमार सिंहलाई ज्ञापनपत्र बुझाएका थिए। त्यसपछि मुख्यमन्त्री सिंहले तत्काल छानबिन गरी कारबाहीको प्रक्रिया अघि बढाउन मन्त्रालयलाई निर्देशन दिएका थिए।

मन्त्रालयका अनुसार, प्रारम्भिक अनुगमन र सोधपुछमा सेवाग्राहीलाई स्वास्थ्य सेवा नदिएको, आचारसंहिता पालना नगरेको र कार्य सम्पादनमा ढिलासुस्ती गरेको प्रमाण देखिएको छ। मन्त्रालयले दिएको पत्रमा भनिएको छ, “३ दिनभित्र स्पष्ट जवाफ नआएमा कारबाही प्रक्रिया अघि बढाइनेछ।”

प्रदेश निजामति सेवा ऐनको दफा ८६ मा रहेको प्रावधानअनुसार सेवाप्रवाहमा जानाजान लापरबाही गर्ने वा ढिलासुस्तीले सेवाग्राहीलाई क्षति पु¥याउने कर्मचारीमाथि कारबाही गर्न सकिने व्यवस्था छ।

यसैक्रममा मधेश प्रदेशका स्वास्थ्य मन्त्री शत्रुधन प्रसाद सिंहले सेवाप्रवाहलाई कमजोर बनाउने, पदअनुसार कार्यक्षमता नदेखाउने वा लापरबाही गर्ने कर्मचारीलाई कारबाही गर्ने चेतावनी दिएका छन्। मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले पनि प्रदेश सरकार मातहतका कुनै निकायमा यस किसिमको उदासीनता सहन नहुने स्पष्ट पारेको छ।

  • लोड हुँदैछ...
  • Loading...
  • लोड हुँदैछ...