आज्ञा खबर
बर्दिवास
महोत्तरी जिल्लाको बर्दिबास–३ गौरीडाँडामा रहेको सर्पदंश उपचार केन्द्रले नयाँ नेतृत्व पाएको छ। विभिन्न दल, समुदाय र सरोकारवाला सबैको सर्वसम्मत सहमतिबाट मंगलबार कृष्ण प्रसाद देवकोटा केन्द्रको अध्यक्षमा चयन भएका छन्। ११ सदस्यीय नयाँ सञ्चालक समितिलाई सर्वपक्षीय सहमतिबाट टुंगो लगाइएको हो।
उपाध्यक्षमा बैद्यनाथ महतो, सचिवमा ध्रुवकुमार बिष्ट, सहसचिवमा खिलहरी गौतम र कोषाध्यक्षमा सुमित्रा कार्की चयन भएका छन्। सदस्यहरूमा विजय दाहाल, विनोद बस्नेत, राधा कार्की, रञ्जितराज ढुंगाना लगायत छन्। यसैगरी, सर्वपक्षीय बैठकले तुलसी प्रसाद ढुंगानाको अध्यक्षतामा ८ सदस्यीय सल्लाहकार समिति समेत गठन गरेको छ, जसमा चिरञ्जिवी हमाल, हिरालाल गौतम, सरिता ढुंगाना, कुमार भण्डारी लगायत समावेश छन्।
गत शनिवार सम्पन्न साधारण सभाले नयाँ समिति चयन गर्न नसकेपछि नेपाल सरकारका निबृत्त उपसचिव रामकुमार कार्कीको संयोजकत्वमा निर्वाचन समिति गठन गरिएको थियो। पहिलो चरणमा सहमति जुट्न नसकेपछि मंगलबार दोस्रो चरणको छलफलले नयाँ समितिलाई टुंगो लगाएको हो। यसरी सर्वसम्मत नेतृत्व चयन हुनु सर्पदंश उपचार केन्द्रको भविष्यलाई सबल बनाउने कदमका रूपमा हेरिएको छ।
बर्दिबास नगरक्षेत्र ‘सर्पको खानी’ भनेर चिनिन्छ। यहाँ विशेषगरी करेत र गोमन जस्ता विषालु सर्पहरू बढी पाइने भएकाले सर्पदंशका घटना सामान्य दैनिक जीवनकै हिस्सा जस्तै भएका छन्। यसैकारण विसं २०७१ साउन ३१ गते स्थापना भएको सर्पदंश उपचार केन्द्र अहिले स्थानीयका लागि जीवनरक्षक संस्था बनेको छ।
नेपाली सेनाका छ जना दक्ष स्वास्थ्यकर्मीले बिरामीको उपचार गरिरहेका छन्। हाल केन्द्रमा आजीवन सदस्य १ सय २१ र साधारण सदस्य ४८ गरी कुल १ सय ६९ सदस्य छन्।
२०८१ साल साउन १० गतेदेखि बर्दिबास नगरपालिकाका नगरप्रमुख प्रह्लाद कुमार क्षेत्रीले नगरवासीका लागि पूर्णरूपमा निःशुल्क उपचारको घोषणा गरेपछि सर्पदंश पीडितहरूलाई ठूलो राहत मिलेको छ। यसअघि बर्दिबास–३ वडाकार्यालयले आफ्ना वडाबासीलाई निःशुल्क उपचारको व्यवस्था गरिसकेको थियो।
“अब केन्द्रमा थप उपकरण र विशेषज्ञको व्यवस्था गरेर बिरामीलाई अझ प्रभावकारी सेवा दिने तयारी छ,” अध्यक्ष देवकोटा भन्छन्, “यसबाट बर्दिबास नगरक्षेत्रका करिब ७५ हजार जनसङ्ख्या प्रत्यक्ष लाभान्वित हुनेछन्।”
सर्पदंश उपचार केन्द्रमा बर्दिबास नगरवासी मात्र होइन, आसपासका गौशाला, भङ्गाहा, औरही, श्यामगोपालपुर, सोनमा, साथै छिमेकी जिल्ला धनुषा, सर्लाही र सिन्धुलीबाट समेत बिरामी आउँछन्। यसले केन्द्रलाई क्षेत्रीय महत्व दिलाएको छ।
बर्दिबास क्षेत्रका नागरिकहरूका लागि सर्पदंश उपचार केन्द्र ‘जीवनको आशा’ बनेको छ। सामूहिक सहमतिबाट नयाँ नेतृत्व चयन हुनु यसको सुशासन र पारदर्शिताप्रति विश्वासको प्रमाण हो। चुनौती भने अझै छन—विशेषज्ञ चिकित्सकको अभाव, आवश्यक उपकरण र स्रोतसाधन विस्तार, दीर्घकालीन आर्थिक व्यवस्थापन। तर स्थानीय सरकार, वडा कार्यालय, नागरिक समाज र नगरवासी सबैले आफ्नो हिस्साको जिम्मेवारी बहन गर्दै लैजाने हो भने यो केन्द्र केवल उपचार केन्द्र मात्र नभई सामुदायिक ऐक्यबद्धताको प्रतीक बन्न सक्छ।





































