आज्ञा खबर
जनकपुरधाम
जनकपुरधाममा गुठी संस्थानको लिजमा लिएको जग्गा विवादित बन्दै गएपछि पत्रकार र वकिलबीचको सम्बन्धमा तनाब उत्पन्न भएको छ। घटनाक्रमले दुवै पेशागत समुदायबीचको आपसी विश्वासमा धक्का पु¥याएको छ।
नेपाल पत्रकार महासंघ मधेश प्रदेश समितीले भूतनाथ महादेव क्षेत्रअन्तर्गतको ४ कट्ठा जग्गा गुठीसँग सम्झौतामा लिएर उपयोग गर्दै आएको दाबी गर्दै आएको छ। महासंघका अनुसार वार्षिक ३ लाख १ हजार रुपैयाँ भुक्तानीसहित २० वर्षका लागि गरिएको यो सम्झौता गुठी संस्थानसँगका सम्पूर्ण कानुनी प्रक्रिया पुरा गरेर भएको हो।
यता, नेपाल बार एसोसिएसन जनकपुरधामले भने सोही जग्गा कानुन व्यवसायीहरूको सुविधा र पार्किङका लागि प्रयोग गर्नुपर्ने अडान लिएको छ। बारले गत साउन २० गते सूचना जारी गर्दै २१ गतेदेखि कानुन व्यवसायीहरूका सवारी साधन त्यहाँ पार्किङ गर्न सकिने जनाएको थियो।
दुबै तिरका सम्बन्धित पक्षका प्रतिनिधिहरूबीच मौखिक रूपमा वैकल्पिक जग्गा व्यवस्थापनबारे छलफल भए पनि विवाद समाधान हुन नसकेको महासंघले जनाएको छ। महासंघका अध्यक्ष श्यामप्रसाद बन्जाराले ‘यो विवाद अदालतमा पुगेको र भदौ ५ गते दुवै पक्षलाई छलफलका लागि बोलाइएको’ जानकारी दिए। उनले अनावश्यक अवरोध सिर्जना गरेर सञ्चालित योजना रोक्न खोज्नु आपत्तिजनक भएको टिप्पणी गरे।
महासंघका महासचिव शैलेन्द्र महतो क्रान्तिका अनुसार जेठ ७ गते प्रकाशित गुठी संस्थानको सूचनामा विभिन्न संघ–संस्थाले प्रस्ताव पेश गरेका थिए। प्राविधिक र आर्थिक मूल्याङ्कनपछि महासंघको प्रस्ताव पास भएको र गुठी संस्थानले साउन २ गते सूचना प्रकाशन गर्दै १९ गते सम्झौता गरेको उनको भनाइ छ।
यसबीच, विवादले स्थानीय क्षेत्रमा पेशागत सहकार्यभन्दा बढी प्रतिस्पर्धा र अविश्वासको माहोल सिर्जना गरेको स्थानीयले टिप्पणी गरेका छन्। दुवै पक्षले आफ्नो कानुनी दाबी बलियो भएको दाबी गर्दै आगामी छलफलमा विवाद टुङ्ग्याउने विश्वास व्यक्त गरेका छन्।
