देशभर जनै पूर्णिमा, ऋषि तर्पणी तथा रक्षाबन्धन पर्व विधिपूर्वक मनाइँदै : नगर प्रमुख क्षेत्रीद्वारा शुभकामना

[sharethis-inline-buttons]

आज्ञा खबर
बर्दिवास
वैदिक सनातन धर्मावलम्बीहरूले प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन मनाउने जनै पूर्णिमा, ऋषि तर्पणी तथा रक्षाबन्धन पर्व आज देशभर विधिपूर्वक मनाइँदैछ। बिहानैदेखि श्रद्धालुहरू नदी, पोखरी, तलाउ र कुण्डमा स्नान गरी गुरु पुरोहितबाट मन्त्रिएको यज्ञोपवीत र रक्षासूत्र धारण गर्दै धार्मिक परम्परा अनुसार पर्व मनाइरहेका छन्।

नेपाल पञ्चाङ्ग निर्णायक समितिका अनुसार रक्षाबन्धनको उत्पत्ति सत्ययुगमा दानवराज बलीलाई गुरु बृहस्पतिले बाँधेर रक्षा गरेको पौराणिक कथासँग जोडिएको छ। यही परम्पराअनुसार आज गुरु पुरोहितहरूले ‘येन बद्धो बलिराजा दानवेन्द्रो महाबल…’ मन्त्र उच्चारण गर्दै जजमानको दाहिने नाडीमा रक्षासूत्र बाँधिदिन्छन्। यस दिन ब्राह्मण, क्षत्री र वैश्य समुदायका तागाधारीहरूले जनै (यज्ञोपवीत) फेर्ने विधि पालन गर्छन्।

श्रावण शुक्ल चतुर्दशीदेखि व्रत बसेका तागाधारीहरूले पूर्णिमाको बिहान गोबर, खरानी, दत्तिउन र सप्तमृत्तिका प्रयोग गरी स्नान गरी ऋषितर्पण गर्ने परम्परा छ। अरुन्धतीसहित आठ ऋषिलाई पूजा एवं तर्पण गर्ने भएकाले यस दिनलाई ‘ऋषि तर्पणी’ पनि भनिन्छ।

यस अवसरमा एघार थरीका गेडागुडी मिसाई बनाइने ‘क्वाँटी’ खाने प्रचलन छ, जसले शरीरलाई बल दिने, रोग प्रतिरोधात्मक क्षमता बढाउने र वर्षायाममा चिसो नलाग्ने धार्मिक विश्वास छ। मधेश प्रदेशको मिथिलाञ्चल क्षेत्रमा भने आजकै दिन दिदीबहिनीहरूले दाजुभाइलाई राखी बाँधेर रक्षाबन्धन पर्व मनाउने परम्परा छ, यसले आपसी प्रेम र सम्बन्ध मजबुत बनाउने मान्यता रहिआएको छ।

रक्षाबन्धन तथा जनै पूर्णिमा पर्वको अवसरमा बर्दिवास नगरपालिकाका नगर प्रमुख प्रह्लाद कुमार क्षेत्रीले नगरवासीलाई शुभकामना दिएका छन्। प्रमुख क्षेत्रीले आफ्ना शोकिय सचिव विनोद ढुंगेलमार्फत पठाएको सन्देशमा गुरु पुरोहित, आफन्तजन र इष्टमित्रसँग जनै लगाउने तथा रक्षाबन्धन बाँध्नाले शत्रुबाट रक्षा हुने जनविश्वास रहेको उल्लेख गरेका छन्। साथै, रक्षा कवचको रूपमा लिइने यो पर्व दिदीबहिनी र दाजुभाइबीचको स्नेह, प्रेम र संरक्षणको प्रतीक भएको बताउँदै नगरभित्र तथा बाहिर रहेका सबै हिन्दू धर्मावलम्बी लगायत सम्पूर्ण मानव जातिको सुख, शान्ति र समृद्धिको कामना गरेका छन्।

उनले क्वाँटी खाने दिन, तामाङ समुदायले मनाउने ‘गोडे ङ्या’ (ग्यान दिवस) र पितृहरुको मुक्तिको निम्ति सन्तानद्वारा दिइने ऋषि तर्पणको अवसरमा सबै पितृ आत्माको बैकुण्ठवासको पनि कामना गरेका छन्।

  • लोड हुँदैछ...
  • Loading...
  • लोड हुँदैछ...