आज्ञा खबर
काठमाडौं
नेपाल इन्भेष्टमेन्ट मेगा बैंक (एनआइएमबी)विरुद्ध नेपाल भ्यालुयर्स एसोसियसन (एनभिए)ले थालेको आन्दोलनलाई विभिन्न १४ वटा संस्थाले समर्थन गरेका छन्।
सम्पत्ति मूल्याङ्कनकर्ता इन्जिनियरहरूलाई विभिन्न बहानामा दुःख दिएको आरोपमा भ्यालुयर्स एसोसियसन चरणबद्ध आन्दोलनमा उत्रिएको हो। आन्दोलनमा नेपाल इन्जिनियर्स एसोसियसन, सोसाइटी अफ कन्सल्टिङ आर्किटेक्ट एन्ड इन्जिनियरिङ फम्र्स, सोसाइटी अफ नेप्लिज आर्किटेक्ट्स, सोसाइटी अफ मेकानिकल इन्जिनियर्स नेपाल लगायतका संस्थाले समर्थन जनाएका छन्।
नेपाल भ्यालुयर्स एसोसियसनका सचिव इ. रविन्द्र अधिकारीका अनुसार एनआइएमबीको व्यवहारका कारण धेरै मूल्याङ्कनकर्ताहरू पीडित भएकाले यस बैंकविरुद्ध आन्दोलनको केन्द्रित अभियान सञ्चालन गरिएको हो। उनका अनुसार, नेपाल बैंकर्स संघ र नेपाल राष्ट्र बैंकलाई पत्र बुझाएर राष्ट्र बैंकले ल्याएको मस्यौदा कार्यान्वयन गराउन माग गरिएको छ।
भ्यालुयर्स एसोसियसनका उपाध्यक्ष प्रज्ञान घिमिरेको संयोजकत्वमा भएको एक सर्वेक्षणमा पनि नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले मूल्याङ्कनकर्तालाई सबैभन्दा धेरै दुःख दिएको निष्कर्ष आएको अधिकारीले जानकारी दिए।
आज साउन २३ गते शुक्रबार भ्यालुयर्स एसोसियसनले नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका प्रदेश कार्यालय तथा आफ्नो शाखा रहेको स्थानहरूमा धर्ना दिने तयारी गरेको छ।
