आज्ञा खबर
काठमाडौं
सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सञ्चारमाध्यमको दर्ता प्रक्रिया जिल्ला प्रशासन कार्यालयमा सारिएको विषयलाई अनावश्यक रूपमा ‘लोकतन्त्रमाथि प्रहार’ का रूपमा व्याख्या नगरिने स्पष्ट पारेका छन्।
बुधवार संसद भवन परिसरमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै उनले यस विषयमा भ्रम सिर्जना नगर्न आग्रह गरे। “कुनै पनि निकायमा दर्ता गर्ने स्थान परिवर्तन हुँदैमा लोकतन्त्र खोसिएको भन्नु तर्कसंगत हुँदैन,” मन्त्री गुरुङले भने, “अहिलेको कानुनी संरचना अनुसार जुन कार्यालयमा दर्ता गर्न भनिएको छ, त्यहीँ प्रक्रिया पुर्याउनु उपयुक्त हुन्छ।”
उनले पूर्ववर्ती व्यवस्था अनुसार सूचना विभागबाट सञ्चारमाध्यम दर्ता हुने गरे पनि अबको कानुनी प्रावधान अनुसार जिल्ला प्रशासन कार्यालयबाट दर्ता हुनुपर्ने जनाउँदै यसलाई सामान्य प्रक्रियागत विषयका रूपमा लिन आग्रह गरे।
“ऐन कानून बनाउने जिम्मेवारी सरकारको हो। त्यसमा के कहाँ दर्ता गर्ने भन्ने कुरा प्रष्टै उल्लेख गरिएको छ,” मन्त्री गुरुङले भने, “कानून सबैका लागि बराबर हो। त्यसको पालना गर्न सबै नागरिकले जिम्मेवारीका साथ अघि बढ्नुपर्छ।”
उनले सूचना तथा प्रसारणसम्बन्धी नीति र विधिको पालना गर्नु लोकतान्त्रिक अभ्यासकै अभिन्न अङ्ग भएको भन्दै दर्ता प्रक्रियामा आएको परिवर्तनलाई सकारात्मक रूपमा लिन आग्रह गरे।





































