बाढीले विस्थापित सदा परिवार घर फर्किए, स्थानीयको सहयोगले टारियो संकट

[sharethis-inline-buttons]

आज्ञा खबर
त्रियुगा, उदयपुर
लगातारको वर्षा र बाढीको जोखिमका कारण तीन दिनसम्म अस्थायी रुपमा बसोबास गर्न बाध्य भएका त्रियुगा नगरपालिका–१३ लक्ष्मीपुर पोर्ताहका सदा ९मुसहर० समुदायका तीन परिवार अन्ततः आफ्नै घर फर्किएका छन्।

गएको आइतबार राति झन्डै १४ घण्टा लगातार परेको अविरल वर्षापछि आएको बाढी र जमिन कटानले सदा समुदायका ती तीन घरधुरी परिवारको बस्ती जोखिममा परेको थियो। अवस्था गम्भीर बन्दै गएपछि वडा कार्यालय र स्थानीय प्रहरीको पहलमा उनीहरूलाई छिमेकीको घरमा सुरक्षित राखिएको थियो।

“वर्षा नरोकिएपछि आधा रातमै उनीहरूलाई नजिकैको सुरक्षित ठाउँमा सार्नुपरेको थियो,” वडाध्यक्ष नविन चौधरीले जानकारी दिए। उनका अनुसार ती तीन परिवारमा बालबालिका र वृद्धसहित १३ जना सदस्य छन्।

वर्षा कम भएपछि मंगलबारदेखि उनीहरू बिस्तारै आफ्नै घरमा फर्कन थालेका छन्। यद्यपि, अझै पनि जमिन कटानको खतरा कायमै रहेको र आगामी वर्षाका लागि दीर्घकालीन समाधान आवश्यक रहेको चौधरीको भनाइ छ।

स्थानीय बासिन्दा र वडाको तत्काल पहलले ज्यानमाथिको संकट टराए पनि सदा समुदायका यी परिवारको घर अब पनि पूर्ण सुरक्षित अवस्थामा छैन। “माटोको जमिन भासिएको छ, अर्को ठूलो वर्षा आयो भने समस्या दोहोरिन सक्छ,” स्थानीय एक बासिन्दाले चिन्ता व्यक्त गरे।

सरकार र स्थानीय निकायसँग प्रभावित परिवारको सुरक्षित बसोबास सुनिश्चित गर्न दीर्घकालीन योजना बनाउने माग पनि उठ्न थालेको छ।

  • लोड हुँदैछ...
  • Loading...
  • लोड हुँदैछ...