आज्ञा खबर
खोटाङ
हलेसी महादेवको दर्शन सकेर फर्किंदै गरेका तीर्थयात्री सवार माइक्रोबस दुर्घटनामा परेको छ। सोमबार बिहान भएको उक्त दुर्घटना खोटाङको हलेसी तुवाचुङ नगरपालिका–१, बाहुनीडाँडास्थित दौंते खोलाको छेउमा भएको हो।
सिराहाको नराहा नगरपालिका–५ बाट हलेसीको धार्मिक यात्रा पूरा गरी फर्किंदै गरेको प्रदेश २–०१००१ ज। ००५३ नम्बरको माइक्रोबस सडकबाट अनियन्त्रित भई पल्टिएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ।
दुर्घटनाका बेला सवारीसाधनमा चालकसहित १६ जना सवार थिए। प्रहरी निरीक्षक तथा सूचना अधिकारी सुशान्त मिश्रका अनुसार, एक जना यात्रु गाडीले च्यापिएर गम्भीर घाइते भएका छन् भने अन्य १३ जना पनि घाइते भएका छन्। गम्भीर अवस्थाका ती यात्रुलाई उद्धार गरी एम्बुलेन्समार्फत नजिकैको उदयपुरस्थित घुर्मी प्राथमिक स्वास्थ्य केन्द्रमा पठाइएको छ।
घटनास्थलमा स्थानीयबासी र सुरक्षाकर्मीको सहकार्यमा उद्धार गरिएको थियो। दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
घाइतेहरुको पहिचान र विस्तृत अवस्था सार्वजनिक हुन बाँकी रहेको बताइएको छ।





































